वीरगञ्ज भन्सारबाट मात्रै करिब ५० प्रतिशत निर्यात « Eglish Khabarhub

वीरगञ्ज भन्सारबाट मात्रै करिब ५० प्रतिशत निर्यात



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो ५ महिनाको अवधिमा नेपालले १ खर्ब २ करोड ९२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । ५ महिनाको अवधिमा सो रकम बराबरको वस्तु निर्यात भएको हालसम्मकै उच्च हो ।

नेपालले १ खर्ब रुपैयाँ बराबरको निर्यात गर्दा करिब आधा हिस्सा वस्तु वीरगञ्ज भन्सारबाट मात्रै निर्यात भएको छ । आयात तथा निर्यातमा ठूलो हिस्सा रहेको वीरगञ्ज भन्सारबाट मात्रै ४९ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । जुन ४८ प्रतिशत हो ।

त्यस्तै, चालु आवको ५ महिनाको अवधिमा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बराबरको आयात गर्दा वीरगञ्ज् भन्सारबाट २ खर्ब ९० अर्ब २ करोड ८८ लाख रुपैयाँको आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी, वीरगञ्जपश्चात विराटनगर भन्साबाट सबैभन्दा बढी निर्यात भएको छ । जसमा सो भन्सारबाट २८ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको निर्या गरेको तथ्याङ्कमा उल्लेख छ ।

तेस्रोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्यात भएको छ । सो भन्सारबाट नेपालले ५ महिनाको अवधिमा १४ अर्ब ४१ करोड ७४ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

त्यसैगरी, ४ अर्ब ३६ करोड ५० लाख रुपैयाँको मेची भन्सारबाट, ३ अर्ब ३० करोड २२ लाख रुपैयाँको भैरहवा भन्सारबाट, १ अर्ब ४६ करोड २० लाख रुपैयाँको ड्राईपोर्टबाट, ८० करोड १३ लाख रुपैयाँको नेपालगञ्जबाट, ३० करोड ६९ लाख रुपैयाँको कैलालीबाट, १२ करोड १४ लाख रुपैयाँ कृष्णनगरबाट, ७ करोड ९६ लाख रुपैयाँको जलेश्वरबाट, ७ करोड २२ लाख रुपैयाँ सुठाउलीबाट, १ करोड २८ लाखको कञ्चनपुरबाट र १ लाख रुपैयाँको सतीबाट निर्यात भएको छ ।

नेपालभर २४ वटा भन्सार कार्यालय छन् । उक्त भन्सारमध्ये ११ वटा भन्सारबाट निर्यात शून्य रहेको छ । जसमा भद्रपुर, गौर, जनकपुर, महेश्वर, राजविराज, रसुवा, सर्लाही, सिराहा, सुन्सरी, तातोपानी र ठडीबाट भने निर्यात शून्य रहेको छ ।

आयातमा पनि वीरगञ्ज अगाडि
आयात निर्यातमा ठूलो हिस्सा रहेको वीरगञ्ज भन्सारबाट चालु आवको ५ महिनाको अवधिमा २ खर्ब ९० अर्ब २ करोड ८८ लाख रुपैयाँको आयात गरेको छ । वीरगञ्जपश्चात भैरहवाबाट १ खर्ब ३६ अर्ब ५२ करोड ३२ लाख रुपैयाँबराबरको आयात भएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ५ अर्ब ७ करोड ७९ लाख रुपैयाँको वस्तु आयात भएको छ ।

त्यस्तै, ९८ अर्ब ५४ करोड २६ लाख रुपैयाँको विराटनगर भन्सारबाट, ९१ अर्ब ३० करोड ५० लाखको नेपालगञ्जबाट, ३४ अर्ब ८० करोड १० लाख रुपैयाँको मेचीबाट, रसुवाबाट १३ अर्ब ४३ करोड २८ लाख रुपैयाँको र कैलालीबाट १० अर्ब ९६ करोड ८२ लाख रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । साथै, अन्य भन्सारबाट ७ करोडदेखि ५ अर्ब रुपैयाँसम्म आयात भएको छ ।

Publish on: