![](https://internal.appharu.com/wp-content/uploads/2018/09/electric_vacile_charging_station.jpg)
काठमाडौं । सरकारले इन्धन गाडीमा गरेको कडाइले विद्युतीय सवारीको आयात बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा विभिन्न क्षमताका ९१३ वटा विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएका छन् ।
भन्सार विभागको तथाङ्कअनुसार बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको मंसिर महिनामा मात्र कार, जिप र भ्यान गरी २४० वटा विद्युतीय सवारी आयात भएको छ । ती सवारी साधनको मूल्य ६७ करोड ४१ लाख ४६ हजार बराबर छ ।
त्यसबाट १८ करोड ७३ लाख ८७ हजार रुपैयाँ भन्सार संकलन भएको छ ।
तरलता अभाव भएको पछिल्लो २ महिनाको भन्सार तथाङ्क हेर्ने हो भने ४६७ विद्युतीय कार, जिप र भ्यानको आयात भएको छ । यो तथाङ्क साउनदेखि असोजसम्मको तुलनामा पछिल्ला महिनामा आयातमा वृद्धि भएको हो ।
तीन महिनाको अवधिमा जम्मा ४४६ वटा विद्युतीय कार, जिप र भ्यानको आयात भएको विभागले जनाएको छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले इन्धन गाडीको आयातमा गरेको कडाइले विद्युतीय सवारीलाई बढी प्रथामिकतामा राखेर बिक्री गर्न थालिएको नारायणी अटो विजनेस प्रालि सुजुकीका प्रवन्ध निर्देशक तथा नाडाका पूर्वसचिव अनुपकुमार बरालको भनाइ छ ।
‘अब इन्धन गाडी ल्याउनका लागि एलसी अर्थात प्रतितपत्र खोल्न ५० प्रतिशत नगद जम्मा गर्नुपर्छ,’ उनले भने, ‘तर विद्युतीय गाडी आयात गर्न १० प्रतिशत मात्र नगद जम्मा गरे पुग्छ ।’
अहिले विद्युतीय गाडीमा चासो राख्ने मानिसहरुको संख्या बढ्न थालेको उनले बताए । ‘विद्युतीय गाडी बिक्री गर्न पनि सजिलो छ,’ उनले भने, ‘अपरेटिङ कस्ट शून्य जस्तै छ ।’
सरकारको प्रथामिकतामा पनि विद्युतीय गाडी परेको छ । नेपालमा छिमेकी दुई मुलुक चीन, भारत, अमेरिका, फ्रान्स, कोरिया र जापान लगायतका देशबाट विद्युतीय सावरी साधान आयात हुने गरेको छ ।
मंसिरसम्ममा सबैभन्दा बढी चीनबाट ६३७, दोस्रोमा भारतबाट १८७, तेस्रोमा कोरिया ६०, चौथोमा जापान २८ र पाँचौंमा फ्रान्स बाट १ वटा गरी कुल ९१३ वटा विद्युतीय सवारी कार, जिप र भ्यान आयात भएको छ ।
यो तथ्यांकलाई हेर्दा चीनले मात्र विद्युतीय सवारी नेपाल आयात गर्नेमा ८० प्रतिशत हिस्सा ओगटेको छ । उक्त देशबाट मंसिर मसान्तसम्ममा १ अर्ब ८७ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको आयात भएको हो ।
त्यस्तै, अर्को भारत बाट ४६ करोड ८२ लाख ३६ हजार रुपैयाँ बराबरको आयात भएको हो ।
चालु आवको मंसिरसम्मको भन्सारको तथाङ्क हेर्दा विद्युतीय सवारी कार, जिप र भ्यान मात्र २ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ बराबरको आयात भएको छ । त्यसको भन्सार महशुल मात्र ७५ करोड ४१ लाख २६ हजार रुपैयाँ उठेको उल्लेख छ ।
प्रतिक्रिया