![](https://internal.appharu.com/wp-content/uploads/2022/01/budget-768x460.png)
काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका विभिन्न आयोजना निर्माणको काम बजेटको स्रोत सुनिश्चित नहुँदा अलपत्र परेका छन् ।
मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले बजेटको स्रोत सुनिश्चित नहुँदा आयोजना निर्माणको काम अघि बढाउन नसकिएको बताए ।
उनका अनुसार हाल विभिन्न आयोजना निर्माणका लागि २० अर्ब ४५ करोड रुपैयाँको स्रोत सुनिश्चित छैन । ती आयोजनाहरुमा वैदेशिक स्रोत भनेर उल्लेख गरिएको छ तर बजेटको स्रोत सुनिश्चित हालसम्म गरिएको छैन ।
‘अहिले पुँजीगत खर्च हुन नसकेको विषय उठान भइरहेको छ । यसो हुनुको एउटा कारण बजेटको स्रोत नै सुनिश्चित नहुनु पनि हो,’ सचिव श्रेष्ठले भनेका थिए ।
उनका अनुसार स्रोत सुनिश्चिता नहुँदा सूर्यविनायक–धुलिखेल सडक, लामाबगर सुरुङमार्ग, सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटुवल–पोखरा सडकखण्ड र कोहलपुर–सुर्खेत राजमार्ग स्तरोन्नती लगायतका अन्य आयोजना काम रोकिएको हो ।
‘कतिपय आयोजनामा वैदेशिक सहयोग भनेर लेखिएको छ तर बजेटको स्रोत सुनिश्चित छैन,’ उनले भने, ‘यस विषयमा विकास पार्टनरसँग छलफल समेत भएको छैन ।’
आयोजना निर्माणको काम समयमै नहुँदा पुँजीगत खर्च हुन नसकेको भन्दै उनले अर्थमन्त्रीले आश्वासन मात्रै दिएको बताए ।
‘स्रोतको सुनिश्चित हामी गर्दै गर्छौ, फाइल उठाएर पठाउनु होस् हामीले ठेक्का व्यवस्थापन गर्नका लागि म्यान्डेट दिन्छौं भन्नु भएको छ,’ उनले भने ।
मन्त्रालयका अनुसार सुर्यविनायक-धुलिखेल सडक बिस्तारका लागि २ अर्ब ५० करोड बजेट आवश्यक छ ।
त्यसैगरी प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नतिका अन्तर्गत कोहलपुर–सुर्खेत राजमार्ग र सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा)का लागि ५ अर्ब रुपैयाँ आवश्यक छ । स्रोत सुनिश्चित नहुँदा ठेक्कालगाउने काम समेत प्रभावित भएको सचिव श्रेष्ठको भनाइ छ ।
त्यसैगरी लामाबगर सुरुङमार्ग निर्माणका लागि २ अर्ब ४६ करोड रुपैयाँ आवश्यक पर्छ । तर हालसम्म पनि बजेटको स्रोत सुनिश्चित हुन सकेको छैन । त्यसैगरी राजमार्ग स्तरोन्नति आयोजनाका लागि थप १ अर्ब ५० करोड बजेट भएपनि स्रोत सुनिश्चित भएको छैन ।
SHARE YOUR THOUGHTS