काठमाडौं । निर्जीवन बीमा कम्पनीले बीमा ऐन, नियामावली तथा समितिबाट जारी निर्देशन विपरीतका कामहरु गर्ने गरेको पाइएको छ ।
बीमा समितिले बीमा व्यवसायलाई व्यवस्थित, नियमित र मर्यादित बनाउन विभिन्न समयमा आवश्यक निर्देशन जारी गर्दा पनि निर्जीवन बीमा कम्पनीहरुले ऐन विपरीत काम गरेका हुन् ।
समितिले निर्जीवन बीमा कम्पनीहरुले उधारो बीमा, डमी कर्मचारी राख्ने लगायतका गुनासा तथा उजुरी समितिमा प्राप्त भएको जानकारी दिएको हो ।
‘बीमकले बीमा व्यवसायका क्रममा उधारो बीमा, नगद फिर्ता, डमी कर्मचारी राख्ने, नक्कली दाबीहरु सिर्जना गरी भुक्तानी दिने, व्यवसायलाई आकर्षित गर्न नगद प्रदान गर्ने, ट्यारिफमा उल्लेख भए भन्दा कम दरले बीमालेख जारी गर्ने जस्ता बीमा ऐन, नियमावली तथा समितिबाट जारी निर्देशनहरु विपरितका कार्यहरु बीमकबाट भइरहेको गुनासा र उजुरीहरु प्राप्त सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ,’ समितिद्वारा परिपत्रमा उल्लेख छ ।
जुन कार्य बीमा कम्पनीबाट हुनु गैरकानूनी भएको समितिको ठहर छ । बीमा कम्पनीबाट हुने यस्ता कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समितिले बताएको छ । यस्ता खालका कार्यप्रति गम्भीरतापूर्वक ध्यान दिन समितिले निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ ।
यदि पुनः यस्तो निर्देशनलाई उल्लघंन गरेमा कानून बमोजिम कारबाही गरिने समितिले चेतावनी समेत दिएको छ ।
SHARE YOUR THOUGHTS