बागलुङ। धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तारले तीव्र गति पाएको छ । पुरानो सेवामा समेत गुणस्तर वृद्धि गरिएको नेपाल टेलिकम बागलुङ शाखाले जनाएको छ।
बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सबै ठाउँमा सेवा पुग्ने गरी काम अघि बढेको हो । यस क्षेत्रमा रहेका ८६ वटा ‘जिएसएम, बिटिएस’ टावरलाई बढाएर चालु आवभित्र १२० पुर्याउने लक्ष्य छ।
सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकताका साथ काम भइरहेको र छिट्टै धवलागिरिभरि गुणस्तरीय सेवा पुर्याइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए । सेवा अपुग रहेको ठाउँबाट माग भई आएमा तत्काल सम्बोधन गर्न दर्जन भन्दा बढी ठाउँमा टावर निर्माणाधीन अवस्थामा रहेको र कतिपय ठाउँको सम्झौता भई उपकरण आउने चरणमा रहेको उनले जानकारी दिए ।
चारै जिल्लाका दुर्गम भेगमा टेलिकमको सेवा प्रभावकारी हुन नसकेको जनगुनासो बढेपछि टेलिकमले काम तीव्र बनाएको हो । म्याग्दीको दाना, मुना बागलुङको बिनामारे, निसी, बोवाङलगायत ठाउँमा हालै मात्र सेवा पुगेको छ । दरमुकाम र बजार क्षेत्रबाट नजिक भएर पनि स्तरीय सेवाबाट वञ्चित ठाउँमा समेत टावर निर्माण भइरहेको छ । नयाँ ‘जिएसएम, बिटियस’ टावर बागलुङको खुङ्गा, दुदिलाभाटी, रायडाँडा, पैंयुपाटा, भीमापोखरा, भकुण्डे, पर्वतको लेखफाँट, लुङ्खु देउराली, मुडीकुवा, म्याग्दीको गुर्जा, चराङ, तिप्ल्याङ, तातापानी, मुस्ताङको घासा, खर्साङ्गलगायत ठाउँमा टावर निर्माण हुने अवस्थामा छ।
नयाँ बन्ने सबै टावर सञ्चालनमा आएपछि चारै जिल्लाका सम्पूर्ण ठाउँमा मोबाइल सेवाको पहुँच पुग्ने जनाइएको छ । सेवा मात्र नथपेर गुणस्तरलाई समेत विशेष ध्यान दिइएको कार्यालयका इन्जिनियर अमृत नेपालले बताए । नयाँ थप गरिएको प्रविधिबाट ‘भ्वाइस’ र ‘डाटा’ दुवैमा ग्राहकले गुणस्तरीय सेवा पाउने उनको भनाइ छ । मोबाइल सेवा पुगेसँगै ग्राहकले अत्याधुनिक प्रविधिको ‘थ्रिजी’ सेवासमेत प्रयोग गर्न पाएका छन्।
इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारलाई समेत सँगसँगै लगिएको इन्जिनियर नेपालले उल्लेख गरे। धवलागिरिमा ७३ ठाउँबाट ‘थ्रिजी’ सेवा दिने तयारीमा टेलिकम छ। अहिले ५० भन्दा बढी ठाउँबाट सेवा प्रवाह भइरहेको जनाइएको छ। सेवा विस्तारले चारै जिल्लाका अधिकांश भू–भागमा ‘थ्रिजी’ को पहुँच पुग्ने जनाइएको छ । पुरानो ‘टुजी’ सेवामा पनि स्तरोन्नतिको काम भइरहेको छ।
SHARE YOUR THOUGHTS