काठमाडौं । लगानीकर्ताले लगानी गरेपछि लाभांशको अपेक्षा गरेका हुन्छन् । त्यो पनि राम्रो र आकर्षक लाभांश । राम्रो लाभांश पाउनका लागि राम्रो कम्पनीमा लगानी गर्नु जरुरी हुन्छ ।
राम्रो कम्पनी छान्ने आधार भनेको कम्पनीको वित्तीय सूचकांक नै हो । त्यस्ता सूचकांकले आफूले कस्तो कम्पनीमा लगानी गरेको छु, त्यो कम्पनीले लाभांश दिने क्षमता कति छ, नाफा कति आर्जन गरेको छ भन्ने थाहा पाउन सकिन्छ ।
यति मात्रै होइन, टाठाबाठा लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको समग्र वित्तीय अवस्थाको बारेमा जानकारी राख्ने गर्दछन् । विशेष लगानीकर्ताले ध्यान दिने भनेको कम्पनीको नाफा, प्रतिसेयर आम्दानी कति छ ? प्रतिसेयर नेटवर्थ कति छ ? खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा कति छ ? कम्पनीले कति निक्षेप संकलन गरेर, कति लगानी गरेको छ ? कम्पनीको चुक्ता पुँजी कति छ र जगेडा कोष कति बलियो छ भन्ने विषयमा ध्यान दिन्छन् । यस्ता कुरामा ध्यान दिएर लगानी गर्ने लगानीकर्ताको लगानी डुब्ने सम्भावना निकै कम हुन्छ ।
हामीले यहाँ राष्ट्रियस्तरका विकास बैंकको उल्लेखित सूचकांक हेरेका छौं ।
जसमा मुक्तिनाथ, ज्योति, गरिमा, साइन रेसुङगा, महालक्ष्मी, लुम्बिनी, कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक छन् । विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरिसकेका छन् ।
चुक्ता पुँजी
चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा सबैभन्दा बढी चुक्ता पुँजी मुक्तीनाथ विकास बैंकको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजीमा बैंक मिसन ८ अर्ब रुपैयाँतर्फ उन्मुख भएको देखिएको छ ।
यस्तै ज्योति विकास बैंकको ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार रुपैयाँ रहेको छ । यस्तै गरिमा विकास बैंकको ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार, साइन रेसुङगा बैंकको ३ अर्ब ७८ करोड १० लाख ९ हजार, महालक्ष्मी विकास बैंकको ३ अर्ब ३४ करोड २४ लाख २ हजार, लुम्बिनी विकास बैंैकको ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार, कामना सेवा विकास बैंकको ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ र सांग्रिलाको चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
जगेडा कोष
कुनै पनि बैंक वित्तीय रुपमा कति बलियो छ भनेर थाहा पाउन जगेडा कोषलाई पनि हेर्ने गरिन्छ । जगेडा कोषमा बलियो लुम्बिनी विकास बैंक रहेको छ बैंकको जगेडा कोषमा २ अर्ब ६२ लाख ८४ हजार रुपैयाँ छ । बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
यस्तै महालक्ष्मी बैंकको जगेडा कोषमा १ अर्ब ७७ करोड ७७ लाख ४९ हजार रुपैयाँ रहेको छ । यता मुक्तीनाथ विकास बैंकको १ अर्ब ४९ करोड ४१ लाख ९२ हजार रुपैयाँ छ ।
गरिमाको १ अर्ब १२ करोड ७६ लाख ६४ हजार, साइन रेसुङगाको १ अर्ब ९ करोड ८५ लाख ९० हजार रुपैयाँ रहेको छ भने ज्योति विकास बैंकको ९८ करोड ११ लाख ६७ हजार, कामना सेवाको ९४ करोड १० लाख ३० हजार, साग्रिला डेभलपमेन्ट बैंकको ७२ करोड ४२ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
निक्षेप
८ वटा राष्ट्रिय स्तरका विकास बैंकमा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा मुक्तिनाथ विकास बैंक छ । बैंकले ९९ अर्ब ३५ करोड ४७ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यस्तै गरिमाले ६५ अर्ब ७५ करोड ३६ लाख ४७ हजार, ज्योतिले ४८ अर्ब २५ करोड ४१ लाख ३३ हजार, कामना सेवाले ४७ अर्ब ७३ करोड २४ लाख २४ लाख ७८ हजार, सांग्रिलाले ४५ अर्ब ९२ करोड ५४ लाख ९९ हजार, साइन रेसुङगाले ३९ अर्ब ६७ करोड १२ लाख ६९ हजार र लुम्बिनीको ३९ अर्ब २८ करोड ४७ लाख ८६ हजार रुपैयाँ रहेको छ ।
कर्जा लगानी
बैंकका विभिन्न सूचकांकमा कर्जा पनि पनि एक हो । बैंकले कति लगानी गरेको छ भनेर यसबाट थाहा पाउन सकिन्छ । ८ वटा बैंकमा कर्जा लगानी बढी गर्नेमा मुक्तिनाथ विकास बैंक छ ।
बैंकले ८७ अर्ब ४ करोड ८६ लाख ८२ हजार रुपैयाँ रहेको छ । गरिमाको ५८ अर्ब ७१ करोड ७३ लाख ४५ हजार, ज्योतिको ४७ अर्ब ७३ करोड ८३ लाख ८९ हजार, कामना सेवाको ४३ अर्ब १ करोड ५५ लाख ३७ हजार, सांग्रिलाको ४० अर्ब ४६ करोड ५ लाख ७० हजार, लुम्बिनीको ३५ अर्ब ६७ करोड ९८ लाख ८३ हजार, महालक्ष्मीको ३३ अर्ब ७७ करोड २६ लाख ३२ हजार, साइन रेसुङगाको ३३ अर्ब ६८ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
खुद ब्याज आम्दानी
खुद ब्याज आम्दानी १ अर्ब बढी हुनेमा २ वटा बैंक रहेका छन् । मुक्तिनाथाको १ अर्ब ५३ करोड २९ लाख र गरिमाको १ अर्ब १७ करोड ५० लाख रुपैयाँ रहेको छ । बाँकी बैंकको १ अर्ब रुपैयाँभन्दा कम रहेको छ ।
ज्योतिको ९१ करोड ८४ लाख, कामना सेवाको ९० करोड ५९ लाख, महालक्ष्मीको ८६ करोड २४ लाख, साइन रेसुङगाको ८० करोड ८५ लाख, सांग्रिलाको ७९ करोड ५८ लाख र लुम्बिनीको ७२ करोड ७४ लाख रुपैयाँ रहेको छ ।
सञ्चालन मुनाफा
सञ्चालन मुनाफामा मुक्तिानाथ नै अगाडि छ । बैंकको ८६ करोड ५ लाख, गरिमाको ७० करोड ३९ लाख, महालक्ष्मीको ६८ करोड ४ लाख, लुम्बिनीको ५१ करोड ४० लाख, साइन रेसुङगाको ४९ करोड ८३ लाख, ज्योतिको ४९ करोड १३ लाख, कामना सेवाको ४९ करोड ९ लाख र सांग्रिलाको ३७ करोड ४१ लाख २८ हजार रुपैयाँ रहेको छ ।
नाफा
चालु आवको ६ महिनामा धेरै नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ ।
बैंकले ६० करोड २४ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रोमा गरिमा रहेको छ । गरिमाले ४९ करोड २९ लाख ५३ हजार, महालक्ष्मी ४५ करोड ६२ लाख ९२ हजार, लुम्बिनीको ३५ करोड १७ लाख ४४ हजार, साइन रेसुङगाको ३४ करोड ८८ लाख ३० हजार, कामना सेवाको ३४ करोड ३६ लाख ८१ हजार र सबैभन्दा कम २६ करोड २८ लाख २२ हजार रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी
प्रतिसेयर आम्दानी धेरै महालक्ष्मी विकास बैंकको रहेको छ । चालु आवको ६ महिनामा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३ पैसा रहेको छ ।
यस्तै गरिमाको २४ रुपैयाँ ९७ पैसा, कामना सेवाको २१ रुपैयाँ ८७ पैसा, लुम्बिनीको २१ रुपैयाँ ४२ पैसा, मुक्तिनाथको २१ रुपैयाँ ३ पैसा, साइन रेसुङगाको १८ रुपैयाँ ४५ पैसा, सांग्रिलाको १७ रुपैयाँ ३९ पैसा र सबैभन्दा कम ज्योति विकास बैंकको १६ रुपैयाँ १२ पैसा रहेको छ ।
प्रतिसेयर नेटवर्थ
प्रति सेयर नेटवर्थ सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको १७८ रुपैयाँ ४ पैसा रहेको छ । यस्तै लुम्बिनी विकास बैंकको १६९ रुपैयाँ ६८ पैसा, गरिमाको १५४ रुपैयाँ १४ पैसा, साइन रेसुङगाको १३६ रुपैयाँ ३३ पैसा, सांग्रिलाको १३१ रुपैयाँ ९७ पैसा, मुक्तिनाथको १३० रुपैयाँ ४५ पैसा र सबैभन्दा कम ज्योति विकास बैंकको १२५ रुपैयाँ ३५ पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS