काठमाडौं । लामो समयसम्म रोकिएको कम्पनीहरुको आइपीओ निष्कासन प्रक्रिया फेरि शुरु भएको छ । लामो समयपछि शुक्रबारदेखि जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ निष्कासन भएको छ ।
कम्पनीले लगानीकर्ताको लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड २२ लाख रुपैयाँको ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रति सेयर आम्दानी ९६ रुपैयाँ ७५ पैसा थियो भने प्रतिसेयर नेटवर्थ ३७९ रुपैयाँ ८६ पैसा छ । साथै, संचित नाफा १३ करोड ८० लाख २० हजार रुपैयाँ रहेको छ ।
कम्पनीले आगामी तीन आर्थिक वर्षको प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ र संचित नाफा नोक्सानको प्रक्षेपण गरेको छ ।
आव २०७८/७९ मा प्रतिसेयर आम्दानी ७४ रुपैयाँ ३२ पैसा, आव २०७९/८० मा ८७ रुपैयाँ ३३ पैसा र आव २०८०/८१ मा प्रतिसेयर आम्दानी ११२ रुपैयाँ ८७ पैसा रहने प्रक्षेपण गरिएको छ ।
यस्तै आव २०७८/७९ मा प्रतिसेयर नेटवर्थ २९७ रुपैयाँ ४२ पैसा, आव २०७९/८० मा ३८३ रुपैयाँ ०१ पैसा र आव २०८०/८१ मा प्रतिसेयर आम्दानी ४९३ रुपैयाँ ६२ पैसा रहने प्रक्षेपण गरिएको छ ।
यस्तै कम्पनीको आव २०७८/७९ मा संचित नाफा २३ करोड ७ लाख ७१ हजार रुपैयाँ, २०७९/८० मा ३३ करोड ९७ लाख ६० हजार रुपैयाँ र आव २०८०/८१ मा ४८ करोड ६ लाख १६ हजार रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।
शाखा सञ्जाल र संरचना
२०७८ असोज मसान्तसम्म कम्पनीले बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा कारोबार गरिरहेको छ ।
हाल वित्तीय संस्थाले २४ जिल्लाहरुमा ८७ शााखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनु्गमन कार्यालयहरु र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ । यसको विभिन्न ८७ वटा शाखाहरु रहेका छन् ।
सृजना विकास केन्द्र, पोखरा, कास्कीद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा २०६० सालबाट सृजना बैकिङ्ग कार्यक्रमको नामबाट प्रारम्भ गरिएको लघुवित्त कार्यक्रम करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा कारोबार गरिरहेको छ । करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको दुई संस्था बीच मर्जर भई जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार गरिरहेको छ ।
२०७५ कात्तिक ३० गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी २०७५ चैत १ गतेदेखि राष्ट्रिय स्तरको ‘घ’ वर्गको वित्तीय संस्थाको हैसियतले आफ्नो वित्तीय कारोवार सञ्चालन गर्दै आएको छ ।
२०७८ असोज मसान्त सम्ममा संस्थाको लगानीमा रहेको कर्जा रकम ४ अर्ब २२ करोड ८८ लाख ६३ हजार ३०९ रुपैयाँ र निक्षेप २ अर्ब १९ करोड ५८ लाख ६९ हजार ४५४ रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० करोड ७८ लाख रहेको छ । आइपीओ निष्काशनपछि १६ करोड रुपैयाँ पुग्ने छ ।
लगानी कसको कति ?
कम्पनीका सृजना विकास केन्द्रको ३ लाख ४३ हजार १०० कित्ता, नेपाल महिला सामुदायिक सेवा केन्द्रको २ लाख ५८ हजार, प्राइम बैंकको ६५ हजार ८००, ज्योति विकास बैंकको ५६ हजार ४००, पोखरा फाइनान्सको ५६ हजार ४०० र गीता कुमारी योगीको २० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १ करोड ७५ लाख ५९ हजार रुपैयाँ रहेको थियो । चालु आवको पुस मसान्तसम्म ५ करोड ८० लाख २५ हजार रुपैयाँ रहेको छ । १० करोड ७८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ५७ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले निष्काशन गरेको आइपीओमा ८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आइपीओमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० देखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसअघि आइपीओ निष्काशन हुँदा माग भन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको थियो ।
यो कम्पनीको आइपीओ पनि लामो समयपछि आउन लागेको भएर माग भन्दा बढी नै आवेदन पर्नेमा कम्पनी निश्चित छ । जसले गर्दा लगानीकर्ताले १० कित्ताका लागि आवेदन दिनु नै उपयुक्त हुने देखिन्छ । लक्की ड्र गरेर बाँडफाँड हुने भएकोले भाग्यमानी आवेदनकर्ताले १० कित्ता सेयर पाउनेछन् ।
SHARE YOUR THOUGHTS