![](https://internal.appharu.com/wp-content/uploads/2022/02/pressmeet-768x538.jpg)
काठमाडौं । दुग्ध विकास संस्थानले तोकेको मूल्यमा असहमति जनाउँदै निजी क्षेत्रका उद्योगीहरूको सहमतिमा आफूखुसी मूल्य बढाएका छन् ।
दुग्ध विकास संस्थानले बिहीबार मात्रै पत्रकार सम्मेलन गरेर दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको थियो । डीडीसीले बढाएको मूल्यमा असहमति जनाउँदै डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा व्यक्त गरेको छ ।
जसमा निजी क्षेत्रका उद्योगीहरूले संस्थानले निर्णय गरेको मूल्यलाई नमान्ने भन्दै मूल्य परिमार्जन गरेको छ ।
उद्योगीहरूले दुग्ध उत्पादन, संकलन, ढुवानी, प्रशोधन र बजारीकरणमा पशु आहार, इन्धन, विद्युत्, ज्याला, ढुवानी खर्चको पटक–पटक मूल्य वृद्धि हुन गई कृषक तथा उद्यमीहरू मारमा पर्न गएकाले नेपाल सरकारका विभिन्न निकायमा किसान लगायत उद्यमीहरूले समय सापेक्ष रूपमा दूधको खरिद तथा बिक्री मूल्य परिमार्जन गर्न अनुरोध गरेको थियो ।
सरकारले गत माघ १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयले कच्चा दूधको मूल्य प्रति लिटर ६.५२ वृद्धि गरी कच्चा दूधको न्युनतम् मूल्य ५६.०४ रुपैयाँ तोकेको थियो । उक्त दूधमा (३ प्रतिशत, फ्याट, ८ प्रतिशत एसएनएफ) निर्धारण भई दुग्ध विकास संस्थानबाट मूल्य निर्धारण गरेको थियो । उक्त मूल्य तोकेसँगै निजी क्षेत्रका उद्योगीहरूले भने विरोध जनाउँदै आएका थिए ।
उद्योगीहरूले किसानको मूल्यमा ७ रुपैयाँ र उद्योगीको मूल्य ३ रुपैयाँ बढ्नुपर्ने माग गर्दै आएका थिए । तर, सरकारले सो मागअनुसार मूल्य नबढाएपछि निजी क्षेत्रका व्यवसायीहरूले आफूखुसी मूल्य बढाएको छ ।
डीडीसीले बिहीबार मात्रै पत्रकार सम्मेलन गरेर दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ बढाइएको जनाएको थियो । उक्त मूल्य आगामी फागुन १ गतेबाट लागू हुने उल्लेख गरेको थियो ।
जसमा डीडीसीले विभिन्न स्थानलाई तोकेर प्रति प्याकेटको मूल्य छुट्टाछुट्टै तोकेको थियो । डीडीसीले स्ट्यान्डर्ड दूधको मूल्य आधार लिटरको प्याकेटको ४२.५० रुपैयाँ कायम गरेको छ । सो मूल्य प्रति निजी क्षेत्रका उद्योगीले दूधको मूल्य प्याकेट ४३ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।
निजी क्षेत्रबाट किसानबाट दूध खरिद गर्दा दुग्ध विकास संस्थानभन्दा बढी दिने पनि धोषणा गरेको छ । नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले आगामी फागुन १ गतेदेखि किसानहरूबाट खरिद गरिने कच्चा दूधको न्यूनतम मूल्य सहकारी संस्थाहरू समेतको गरी (३% फ्याट, ८% प्रतिशत एसएनएफ)को ६२ रुपैयाँ कायम गरिएको र प्रशोधित स्ट्याण्र्डड दूध प्रतिलिटर १० वृद्धि गर्ने निर्णय भएको बताए ।
डीडीसीले किसानलाई ६० रुपैयाँ दिने निर्णय गरेको छ । उनकाअनुसार अब निजी क्षेत्रले किसानलाई संस्थानले दिने मूल्यभन्दा २ रुपैयाँ बढी दिनेछ । ‘डीडीसीले किसानलाई प्रतिलिटर दूधको मूल्य ६० रुपैयाँ दिने निर्णय गरेको छ,’ उनले भने, ‘निजी क्षेत्रले किसानलाई २ रुपैयाँ बढाएर ६२ रुपैयाँ दिनेछ ।’ त्यस्तै, किसानलाई २ रुपैयाँ बढाएपश्चात् उपभोक्ता मूल्यमा भने निजी क्षेत्रले १ रुपैयाँ बढाएर प्रति प्याकेट ४३ रुपैयाँ तोकेको छ ।
उपभोक्ता मूल्य १४ रूपैयाँसम्म बढ्याे
सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ बढाएपछि डीडीसीले उपभोक्ता मूल्य बढाएको छ ।
फ्याटका आधारमा स्ट्यान्डर्ड दूधमा ९ रुपैयाँ, टी–मिल्क १० रुपैयाँ, गाईको दूधमा १२ रुपैयाँ र फुलक्रिम मिल्कमा १४ रुपैयाँसम्म मूल्य बढाएको डीडीसीले जनाएको छ । डीडीसीले कायम गरेको मूल्यअनुसार अब भने आधा लिटरलाई ४२.५० रुपैयाँ पर्नेछ ।
यो मूल्य काठमाडौं, विराटनगर, हेटौँडा र जनकपुरमा लागू हुनेछ । त्यस्तै, बुटवलमा आधा लिटरको मूल्य ४०.५० रुपैयाँ र नेपालगन्ज र धनगढीमा ३९.५० रुपैयाँ तोकेको छ । तर, निजी क्षेत्रले उक्त मूल्यलाई समायोजन गर्दै प्रतिलिटर १० रुपैयाँसम्म बढाएको छ ।
निजी क्षेत्रले अहिले आधा लिटरलाई ४३ रुपैयाँ मूल्य कायम गरेको छ । साथै, अन्य स्थानमा दुरीको हिसाबले तलमाथि पर्ने निजी क्षेत्रको भनाइ छ ।
संस्थानसँग मिलेर जान नसक्दैनौंः निजी क्षेत्र
सरकारको स्वामित्वमा रहेको डीडीसीसँग निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्न नसक्ने जनाएको छ । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले संस्थानले गर्दा आफ्नो उद्योग जोगाउन निकै कठिन हुने बताउँदै अबको दिनमा डीडीसीसँग मिलेर जान नसक्ने बताएका छन् ।
‘मूल्य बढाउनका लागि समिति गठन भई अध्ययन गरेको प्रतिवेदनका आधारमा मूल्य नबढाई डीडीसीले आफूखुसी मूल्य बढाएको छ,’ उनले भने, ‘संस्थानले न उद्योगीको कुरा सुन्यो । न त प्रतिवेदनलाई नै विश्वास गर्यो । त्यसैले हामी डीडीसीसँग सहकार्य गरेर अगाडि जान सक्दैनौं ।’निजी क्षेत्रले किसानलाई संस्थानले दिने मूल्यभन्दा २ रुपैयाँ बढी दिने र उपभोक्तामा १ रुपैयाँ बढाउने जनाएको छ ।
उनकाअनुसार डीडीसीले तोकेको आधार लिटरको मूल्यमा व्यवहारिक नभएको जनाएको छ । ‘संस्थाले प्रतिलिटर ४२.५० पैसा तोकेको छ । त्यसमा उपभोक्ताले ५० पैसा कहाँबाट ल्याउँछ,’ उनले प्रश्न गरे । उपभोक्तालाई आधा लिटरको मूल्य ४२.५० पैसा तोके पनि उपभोक्ताले ४३ रुपैयाँ दिनुपर्ने अवस्था रहेको जनाउँदै निजी क्षेत्रले ४३ रुपैयाँ मूल्य कायम गरेको उनको भनाइ छ ।
त्यस्तै, नेपाल डेरी एशोसिएनका अध्यक्ष राधाकृष्ण सापकोटाले संस्थानले कायम गरेको मूल्य प्रतिअसहमति जनाउँदै निजी क्षेत्रले १० रुपैयाँ मूल्य बढाउने निर्णय भएको बताए । उनकाअनुसार संस्थाले दूधको मूल्य अव्यवहारिक तरिकाले बढाएको छ ।
त्यसैले, किसानलाई बढी राहत दिई उपभोक्तालाई १ रुपैयाँ बढाएर ४३ रुपैयाँ प्रति प्याकेट मूल्य कायम गरेको छ । साथै, डीडीसीले गर्दा यस क्षेत्रमा आबद्ध सम्पूर्ण उद्योगी तथा व्यवसायी धारासायी बन्ने अवस्थामा पुगेको उनले जिकिर गरे ।
बिचौलियालाई फाइदा उपभोक्ता मारमा
सरकारले किसानले उत्पादन गरेको दूधको मूल्य बढाए पनि सबैभन्दा बढी बिचौलियालाई बढी फाइदा उठाउने उपभोक्ताकर्मीहरूको भनाइ छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्सिनाले अहिलेको समयमा सरकारले मूल्य बढाएको न्यायोचित नभएको बताए । उनकाअनुसार कोरोना महामारीका कारण आर्थिक मन्दी खेपिरहेको उपभोक्तालाई दूधको मूल्य बढाएर थप भार थोपरेको छ ।
‘संस्थानले तोकेको मूल्य नै न्यायोचित छैन,’ उनले भने, ‘पहिलेदेखि नै किसान र उपभोक्ताको नाममा बिचौलियाको फाइदाको लागि निर्णय ग¥यो ।’हाल किसानको मूल्य बढाए पनि किसान र उपभोक्ताले भने फाइदा लिन नसक्ने उनले जिकिर गरे ।
उत्पादन बढाएर आम उपभोक्तालाई अझ बढी उपभोग गर्नका लागि आकर्षण गर्नुपर्ने अवस्थामा सरकारले बिचौलियाको पक्षमा मूल्य बढाएको छ । यसले गर्दा बिचौलिया र उद्योगीलाई मात्रै फाइदा पुग्ने उनको बुझाइ छ ।
दूधको मूल्य बढ्दा दूधबाट उत्पादन हुने वस्तुको मूल्य बढ्ने
दूधको मूल्यवृद्धि भएसँगै दूधबाट बन्ने बजारमा विभिन्न प्रकारका खाद्यान्न वस्तुको मूल्य बढ्ने भएको छ ।
निजी क्षेत्रले प्रतिलिटर १० रुपैयाँसम्म मूल्य बढाउँदा अन्य विभिन्न प्रकारका वस्तुको मूल्य पनि स्वाभाविक रूपमा बढ्ने दुग्ध व्यवसायीहरूको भनाइ छ ।आगामी फागुन १ गतेदेखि दूधको मूल्य बढ्ने बित्तिकै दही, पनिर, बटर, चिज, घ्यू, खुवा, रसबरी, आइसक्रिम, मिठाईलगायतको मूल्य बढ्ने भएको छ ।
यस्तो हुनेछ निजी क्षेत्रले कायम गरेको दुग्धजन्य पदार्थको मूल्य
निजी क्षेत्रले तोकेको मूल्यको आधारमा अन्य दुग्धजन्य पदार्थको मूल्य पनि बढाएको छ । जसमा डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले आधा लिटर स्ट्यान्डर्ड दूधको मूल्य ४३ रुपैयाँ, दही ५०० मिलिलिटर पाउचको ७५ रुपैयाँ, कन्टेनर १ लिटर दहीको १६५ रुपैयाँ, दही कन्टेनर ५०० मिलिलिटरको ८५ रुपैयाँ, २०० मिलिलिटर कपको दहीको मूल्य ४० रुपैयाँ, पनि १ केजीको ८ सय ३० रुपैयाँ, १ केजी बटर (नौनी) को ९ सय २५ रुपैयाँ, १ लिटर घिउको ११ सय रुपैयाँ र खुवाको प्रतिकेजी ७ सय ५० रुपैयाँ मूल्य तोकेको छ ।
SHARE YOUR THOUGHTS