काठमाडौं। कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपिएस टपिक) को तयारी मोबाइलबाटै गर्न सकिने गरी ‘उरी इपिएस टपिक टेस्ट’ नामक निःशुल्क मोबाइल एप तयार भएको छ। यहि जेठ २६ र २७ गते भाषा परीक्षा हुँदैछ ।
उरी कन्सलटेन्सीले एन क्लाउड र साइबर लिङ्कसँग सहकार्य गरी तयार पारेको यो एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइका प्रश्नहरु र सम्भावित उत्तर राखिएको कम्पनीले जानकारी दिएको छ।
‘इपिएसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिन्छ, त्यही शैलीमा हामीले एपमा प्रश्नहरुको सेट राखेका छौँ,’ उरी कन्सलटेन्सीका उदेश श्रेष्ठले भने, ‘एप चलाएर सजिलै टेस्ट दिन सकिन्छ, टेस्ट दिने बित्तिकै यसको रिजल्ट तपाईँले हेर्न सक्नुहुन्छ। यसले तपाईँलाई वास्तविक इपिएस परीक्षाका लागि आत्मविश्वास पनि जगाउँछ।‘
‘हामीले पहिले प्रिमियम एप बनाएका थियौँ जसमा शुल्क तिर्नुपर्थ्यो तर अहिलेको एप डाउनलोड गरेर चलाउन कुनै शुल्क तिर्नु पर्दैन,’ एनक्लाउडका दीपेन्द्रनारायण श्रेष्ठ भन्छन् ।
यो एप हाललाई एण्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध रहेको र निकट भविष्यमा आइफोन प्रयोगकर्ताहरुलाई लक्षित गरी निर्माण गरिने उनले बताए।
SHARE YOUR THOUGHTS