![](https://internal.appharu.com/wp-content/uploads/2022/03/GHT-1-768x432.jpg)
काठमाडौं । नेपालको साहसिक पर्यटन प्रर्वद्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघा देखि सुदुरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् ।
साईकल यात्रामा निस्कन लागेका लामालाई पर्यटन बोर्डले बिदाई गरेको छ । लामाको यो यात्रा १७ सय किलोमिटर लामो रहने छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री अजय शाहले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै लामाको साइकल यात्राले नेपालको साहसिक पर्यटनमा थप टेवा पुग्ने बताए । उनले साहसिक पर्यटन प्रर्वद्धनका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको समेत बताए ।
बोर्डका उपाध्यक्ष चन्द्र रिजालले साहसिक पर्यटन नेपालको पहिचान भएको बताउँदै बोर्डले सिमित स्रोत साधनका बीच काम समग्र पर्यटन प्रर्वद्धनको काम गरेको जानकारी दिए ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/03/GHT-on-Wheels-Mangal-Lama58-900x600-1-768x512.jpeg)
बोर्डका निर्देशक मणिराज लामिछानेले साहसिक पर्यटन प्रर्वद्धनका लागि बोर्डले विभिन्न कार्यक्रमरू सञ्चालन गरिरहेको जानकारी दिँदै यो रुटलाई नयाँ प्रडक्टको रुपमा प्रर्वद्धन गर्न र साहसिक पर्यटनमा सहभागीलाई बोर्डले सक्दो सहयोग गर्ने आश्वासन दिए ।
साईक्लिस्ट लामाले आफ्नो पहिचान भन्दा पनि देशको पहिचानको लागि आफुले कठिन र जोखिमपूर्ण यात्रामा निसक्न लागेको बताउँदै यस प्रकारका कार्यक्रममा बोर्ड सहित अन्य सरकारी निकायको सहयोग आवश्यक रहेको बताए ।
लामाले चैत्र १८ अर्थात अप्रिल १ देखि कञ्चनजंघा बाट साइकल यात्रा शुरु गर्ने र सो यात्रा ६० देखि ७० दिनसम्मको हुने आयोजकले जानकारी दिएको । लामा व्यवसायिक माउण्टेन बाइकर हुन् । उनले देश तथा विदेशमा आयोजित विभिन्न प्रतियोगितमा भाग लिएका छन् ।
SHARE YOUR THOUGHTS