
काठमाडौं । बीमा समितिले समयमै दाबी भुक्तानी नदिने बीमा कम्पनीले दिनगन्तीका हिसाबले बीमा रकमको ब्याज दिनुपर्ने व्यवस्था गर्ने भएको छ ।
बीमा समितिको आयोजनामा आइतबार (हिजो) ललितपुरमा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले जानीजानी समयमै दाबी भुक्तानी नदिएमा दिनगन्ती गरेर बीमा रकमको ब्याज समेत दिनुपर्ने व्यवस्था गर्न लागेको बताएका हुन् ।
सिलवालले बीमा दाबी भुक्तानी मनोगत रुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन समेत दिएका छन् ।
बीमा सम्बन्धी ऐन, नियम र निर्देशिका तथा बीमा समितिको निर्देशन अनुसार राम्रो काम गर्ने कम्पनीलाई प्रशंसापत्र दिने र कानून उल्लङ्घन गरी गलत काम गर्नेलाई भने कारवाही गरिने बताए ।
समितिले राष्ट्रिय बीमा नीति ल्याउन सरकारलाई आग्रह गर्दै आएको समेत जानकारी गराए । जसका लागि मस्यौदा समेत बुझाइसकेको उनले बताए ।
‘आगामी १० वर्षपछि बीमाको रकम बैंकको भन्दा पनि बढी हुन्छ, अब हरेक विषयमा बीमा केन्द्रित हुनुपर्छ र बीमा रकमको लगानी सुनिश्चित गर्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुका लागि एकीकृत सफ्टवेर निर्माण गर्ने कार्यको समितिले नेतृत्व गर्ने बताए ।
बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता लगायतलाई सक्षम बनाउनका लागि तालिम दिन इन्स्योरेन्स इन्ष्टिच्युट नेपाललाई अनुमती दिइएको जानकारी दिए ।
कार्यकारी निर्देशक पौडेलले समितिले एकीकृत निर्देशिका चाँडै ल्याउने जानकारी गराए ।
बीमा दाबी भुक्तानी छिटोभन्दा छिटो गरेर बीमाप्रतिको विश्वास कायम राख्न उनले आग्रह समेत गरे । कार्यक्रममा जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता थियो ।
SHARE YOUR THOUGHTS