यी पाँच वाणिज्य बैंकले निक्षेपभन्दा बढी कर्जा दिए « Eglish Khabarhub

यी पाँच वाणिज्य बैंकले निक्षेपभन्दा बढी कर्जा दिए



काठमाडौं । लगानीयोग्य रकम (तरलता) अभाव बढ्दै गएको समयमा पाँच वटा वाणिज्य बैंकहरुले भने बैंकिङ प्रणालीलाई नै चूनौती दिने गरी कर्जा प्रवाह गरेको पाइएको छ ।

फागुन मसान्तसम्म आइपुग्दा सरकारी स्वामित्वको कृषि विकाससहित ५ वटा वाणिज्य बैंकले निक्षेप संकलनभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

तथ्यांक अनुसार कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, मेगा बैंक र प्राइम बैंकले निक्षेप संकलनभन्दा बढी कर्जा प्रवाह गरेका हुन् ।

कृषि विकास बैंकले फागुन मसान्तसम्म १ खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । तर कर्जा प्रवाह भने निक्षेपको तुलनामा १६ अर्ब ७२ करोड बढी अर्थात् १ खर्ब ७६ अर्ब १० करोड रुपैयाँ गरेको छ ।

प्राइम बैंकले निक्षेप संकलन भन्दा ६ अर्ब ३२ करोड रुपैयाँ बढी कर्जा लगानी गरेको छ । फागुन मसान्तमा बैंकले १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह १ खर्ब ६३ अर्ब ९० करोड रुपैयाँ गरेको छ ।

बैंक अफ काठमाण्डूले फागुन मसान्तसम्म १ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले निक्षेप संकलनको तुलनामा ५ अर्ब ३४ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेको देखिन्छ ।

साथै, मेगा बैंकले निक्षेप संकलनको तुलनामा ४ अर्ब १३ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेको छ । बैंकले फागुन मसान्तसम्म १ खर्ब ४६ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ५० अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सिभिल बैंकले पनि निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह ३८ करोड रुपैयाँले बढी कर्जा प्रवाह गरेको छ । फागुन मसान्तसम्म ८९ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले सोही अवधिमा ९० अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

वाणिज्य बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढाए पनि तत्काल डराउनुपर्ने वा बैंकिङ प्रणालीमा हिट गर्ने हो कि भन्ने अवस्था नरहेको बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायको भनाइ छ ।

‘बैंकहरुले कर्जा प्रवाह गर्दा प्रयोग गर्न पाउने लिमिट प्रयोग गरेका हुन्,’ उनले भने, ‘लिमिटभन्दा बाहिर जान मिल्दैन, त्यसैले त्रसित बन्नुपर्ने अवस्था छैन ।’

उनका अनुसार हरेक बैंकले कुन महिना के गर्ने हो त्यसको योजना पठाउने र सोही अनुसार काम गर्नुपर्छ ।

‘कुनै महिना योजनाभन्दा सामान्य तलमाथि पनि हुनसक्छ,’ उनले भने ‘धेरै फरक पर्यो भने बैंकहरुले व्यवस्थापन गर्छन् ।’

हाल वाणिज्य बैंकले नयाँ ऋणीलाई कर्जा दिनसक्ने अवस्था न्यून रहेको उनको भनाइ छ । सामान्य खाले कर्जा प्रवाह भएपनि ठूला कर्जा जानसक्ने अवस्था नरहेको उनले बताए ।

Publish on: