काठमाडौं । सेयर लगानीकर्ताले अब कारोबारको रियल टाइममा फ्लोर सिट हेर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिँदै फ्लोर सिट हेर्न नपाउने व्यवस्था गर्न भनेको छ ।
हाल कारोवार समयमा नै फ्लोर सिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको थियो । उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा सुझाव तथा गुनासो प्राप्त भएकोले सोही आधारमा बोर्डले नेप्सेलाई निर्देशन दिएको सेबोनको भनाइ छ ।
‘धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई पत्राचार गरेको बोर्डले जनाएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै कोरोना महामारीको समयमा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको कार्यालयमा बन्द भएको स्किृन एक्जिविसन रुम खुला हुने भएको छ । धितोत्रप बोर्डले ब्रोकर कम्पनीलाई उक्त रुम खोज्न निर्देशन दिएको छ ।
कोरोनाको समयमा धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भनेर स्क्रिन एग्जिविशन कक्ष बन्द भएको हो । ‘हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको छ ।
यसै सन्दर्भमा कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने÷गराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको स्क्रिन एग्जिविशन कक्ष सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।
SHARE YOUR THOUGHTS