बागलुङ। नेपाल टेलिकमले उपल्लो मुस्ताङमा सेवाको गुणस्तर बढाउन काम सुरु गरेको छ ।
मोबाइल र तीव्रगतिको इन्टरनेट सेवा दिन नयाँ प्रविधि जडान गर्न लागिएको हो । हाल रहेको ‘स्याटेलाइट प्रविधि’ लाई हटाएर ‘माइक्रोवेभ रेडियो’ सञ्चालनमा ल्याइने र नयाँ प्रविधिले ‘भ्वाइस’ र ‘डाटा’ मा उल्लेख्य सुधार आउने टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए ।
उनका अनुसार उपल्लो मुस्ताङको घ्युला डाँडा, स्याङबोचे र लोमान्थाङमा ‘जिएसएम, बिटियस’ टावर निर्माणको काम अघि बढेको छ । जोमसोमसम्म ‘माइक्रोवेभ प्रविधि’ बाट मोबाइल सेवा पुगे पनि उपल्लो मुस्ताङको सेवा भने ‘स्याटेलाइट’ मा निर्भर छ ।
‘माइक्रोवेभ प्रविधि’ राख्नसाथ राज्यलाई पर्ने अतिरिक्त आार्थिक भार पनि कटौती हुने इन्जिनियर शर्माको भनाइ छ । ‘स्याटेलाइट प्रविधि राख्दा विदेशी कम्पनीसँग सम्झौता गरेर किन्नुपर्ने बाध्यता छ’ इन्जिनियर शर्माले भने ‘माइक्रोवेभ राखेपछि स्याटेलाइट विस्थापित हुन्छ, राज्यको खर्च घट्छ ।’
‘माइक्रोवेभ’ प्रविधि नहुँदा मोबाइल सेवा पुगे पनि तीव्रगतिको इन्टरनेट चलाउनबाट उपल्लो मुस्ताङवासी वञ्चित थिए । नयाँ प्रविधि राखेपछि मोबाइलमा ‘थ्रिजी’ सेवा पनि विस्तार हुने जनाइएको छ ।
‘स्याटेलाइट प्रविधिमा ‘थ्रिजी’ नचल्ने हुँदा उपल्लो मुस्ताङमा इन्टरनेटको समस्या छ,’ इन्जिनियर शर्माले भने, ‘माइक्रोवेभ रेडियोले थ्रिजीलगायत सबै डाटा र भ्वाइसमा गुणस्तर वृद्धि हुन्छ ।’
मौसमले साथ दिएमा आगामी तीन महिनाभित्र सबै काम पूरा भई सेवा सञ्चालनमा आउने शर्माले बताए ।
कम जनसङ्ख्या भएको भए पनि उपल्लो मुस्ताङ विश्वकै आकर्षक पर्यटकीय गन्तव्य भएकाले टेलिकमले गुणस्तरीय सेवा विस्तारमा प्राथमिकता दिएको हो । सेवा विस्तारसँगै उपल्लो मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले लाभ लिनेछन् । हाल उपल्लो मुस्ताङमा नेपाल टेलिकम बाहेक अन्य कुनैपनि दुरसञ्चार कम्पनीको सेवा पुगेको छैन ।
नेपाललाई चीनसँग जोड्ने कोरला नाकासम्मै ‘माइक्रोवेभ’ र ‘अप्टिकल फाइबर’ पु¥याउने योजनामा टेलिकम छ । टेलिकमले धवलागिरि क्षेत्रभरि गुणस्तरीय सेवा विस्तारलाई तीव्रता दिएको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सबै ठाउँमा टेलिकमको सबै सेवा पुर्याउने लक्ष्य लिइएको छ । यस क्षेत्रमा रहेका ८६ वटा ‘जिएसएम, विटियस्’ टावरलाई बढाएर चालु आवभित्र १२० पु¥याइने टेलिकम बागलुङका इन्जिनियर अमृत नेपालले जानकारी दिए ।
सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकताका साथ काम भइरहेको उनको भनाइ छ । नयाँ बन्ने सबै टावर सञ्चालनमा आएपछि चारै जिल्लाका सम्पूर्ण ठाउँमा मोबाइल सेवाको पहुँच पुग्ने छ । सेवा मात्र नथपेर गुणस्तरलाई समेत विशेष ध्यान दिइएको छ ।
मोबाइल सेवा पुगेसँगै ग्राहकले अत्याधुनिक प्रविधिको ‘थ्रिजी’ सेवा समेत प्रयोग गर्न पाएका छन् । इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारलाई समेत सँगसँगै लगिएको इन्जिनियर नेपालले बताए । धवलागिरिमा ७३ ठाउँबाट ‘थ्रिजी’ सेवा उपलब्ध गराउने तयारीमा टेलिकम रहेको छ ।
SHARE YOUR THOUGHTS