कांग्रेसले संकल्पः भ्यूटावर र स्वागतद्वारमा पैसा खर्च गर्दैनौं, स्वास्थ्यमा १०% बजेट « Eglish Khabarhub

कांग्रेसले संकल्पः भ्यूटावर र स्वागतद्वारमा पैसा खर्च गर्दैनौं, स्वास्थ्यमा १०% बजेट



काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्दै भ्यूटावर नबनाउने घोषणा गरेको छ । स्थानीत तह निर्वाचन २०७९ का लागि आइतबार पार्टी कार्यालय सानेपाबाट सार्वजनिक गरिएको संकल्पपत्रमा जनताबाट उठेको रकम भ्यूटावर र स्वागतद्वार बनाउन खर्च नगर्ने उल्लेख छ ।

संकल्पपत्रमा भनिएको छ, ‘नेकपा एमालेको सरकारले ठूलाठूला पूर्वाधारका संरचना, अग्ला भवन, भ्यूटावर, भिमकाय एयरपोर्ट र हिमालमा रेल चढाउने लगायतका सपनाको व्यापार गरेको थियो । त्यस्तो समृद्धिको आधार देशले धान्नै नसक्ने अत्यन्त खर्चिलो भौतिक विकास हो । त्यस्तो विकासले जनताको शीरमा ऋणको भारी बोकाउँछ ।’

नेपाली कांग्रेसले अनावश्यक भौतिक पूर्वाधार विकास गर्दा प्राकृतिक स्रोतहरुको अवैज्ञानिक दोहन गरेर भावी पुस्तालाई समेत जोखिममा पार्ने गरी पर्यावरणीय संकट निम्त्याउने भन्दै अनावश्यक पूर्वाधारमा लगानी नगर्ने प्रतिवद्धता जनाएको छ ।

कांग्रेसले निर्वाचन जितेमा कानूनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै काम नगर्ने संकल्प पत्रमा उल्लेख छ । यस्तै संकल्प पत्रमा नातेदार र परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने उल्लेख छ ।

संविधानको मर्मअनुसार शिक्षा र स्वास्थ्यका क्षेत्रमा स्थानीय सरकारले लगानी गर्ने कांग्रेसको संकल्प छ ।

एक वर्षभित्र स्थानीय सरकारलाई थप स्रोतसाधन सम्पन्न बनाउन कर्मचारी व्यवस्थापन गरी आवश्यक जनशक्ति पदपुर्ती गर्ने व्यवस्था गर्ने समेत कांग्रेसको भनाइ छ ।

संविधानले प्रत्याभूत गरेको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई हस्तान्तरण गर्न सङ्घीय सरकारले एक वर्षभित्र सम्पूर्ण आवश्यक कानून निर्माण गर्ने समेत कांग्रेसको प्रतिवद्धता छ ।

संकल्पपत्रमा स्थानीय कच्चा पदार्थको प्रयोग, रोजगारी सिर्जना र हरित उद्योग व्यवसायलाई कर सहुलियत दिने, विकास–निर्माण र सेवा प्रवाहमा एकरुपता ल्याउन र स्रोतको समूचित उपयोग गर्न सङ्घ, प्रदेश र स्थानीय तहसँग निरन्तर सहकार्य, समन्वय र परामर्श गर्ने संयन्त्र निर्माण गर्ने, पूर्वाधार विकास, यातायात, फोहोरमैला व्यवस्थापन, पर्यटन प्रवर्द्धन, जलस्रोत विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारवीच आवश्यकता अनुसार सहकार्य गर्ने उल्लेख छ ।

हरेक स्थानीय तहमा एउटा सुविधा सम्पन्न उत्कृष्टताको केन्द्रका रूपमा कम्तीमा एउटा ‘अगुवा विद्यालय’ स्थापना गर्ने कांग्रेसको संकल्प छ । तर, अहिले कांग्रेसको नेतृत्व रहेको स्थानीय तहमा समेत कुनै नमूना अगुवा विद्यालय भने बनेका छैन् ।

२०७४ सालको घोषणापत्रमा समेत शिक्षाका क्षेत्रमा लगानी बढाउने कांग्रेको घोषणा थियो ।
स्थानीय तहले विनियोजन गर्ने स्रोतबाट स्वास्थ्य क्षेत्रको बजेटलाई कम्तीमा १० प्रतिशत पुर्याउने कांग्रेसको संकल्प छ ।

एमाले सर्वोच्चको आदेशबाट जन्मिएको पार्टी
नेपाली कांग्रेसले नेकपा एमाले पार्टी सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भन्दै टिप्पणी गरेको छ ।

‘अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यङ्ग्य र कटाक्ष गर्दै आउनु भएको छ । तर नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत जानु भएको थियो । यसै गरी नेकपा (एमाले) स्वयं र नेकपा (माओवादी केन्द्र) सर्वोच्च अदालतको आदेशबाट जन्मिएका पार्टीहरू हुन्,’ संकल्पपत्रमा भनिएको छ ।

संकल्पपत्रमा अगाडि भनिएको छ, ‘सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा (एमाले) को वैधानिक हैसियत माथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला ? यदि संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्री समेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय होइन ।

Publish on: