काठमाडौं । आगामी ५/६ महिनामा २० मेगावाट विद्युत् उत्पादन क्षमताको मोदी हाइड्रोपावर निर्माण सम्पन्न हुने भएको छ ।
भूकम्प, नाकाबन्दी र टनेलका कारण निर्माण कार्यमा ढिलाई भएको यो आयोजना अहिले द्रुत गतिमा निर्माण भइरहेको आयोजनाका सञ्चालक ज्ञानेन्द्रलाल प्रधानले जानकारी दिए ।
‘फागुन/चैतमा आयोजनाले विद्युत उत्पादन गर्छ,’ प्रधानले क्लिकमाण्डूसँग भने,- ‘हालसम्म आयोजना निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भएको छ ।
आयोजनाको विद्युत उत्पादन क्षमता २० मेगावाट भएपनि हिउँदको समयमा ७ मेगावाट मात्रै बिजुली निस्कने उनले बताए ।
साढे ३ अर्ब रुपैयाँभन्दा बढीको लागतमा आयोजना निर्माण भएको प्रधानले जानकारी दिए ।
‘आयोजनाको ४.२ किलोमिटर टनेल छ, टनेलमा विभिन्न समस्या देखिएका कारण लागत बढेको हो,’ उनले भने,- ‘आयोजना सम्पन्न हुँदासम्म साढे ३ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने देखिएको छ ।’
यो आयोजना ४ वर्षअघि निर्माण थालिएको हो । पोखरादेखि २६ किलोमिटर टाढा रहेको यो आयोजना पर्वत जिल्लामा पर्छ ।
आयोजनाबाट उत्पादित बिजुली तल्लो मोदीको सबस्टेसनमा लैजाने भएकाले प्रसारणलाइनको लम्बाई आधा किलोमिटरमात्रै छ ।
आयोजनाले गत फागुन १९ गते १७ करोड २५ लाख रुपैंयाँ बराबरका १७ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
SHARE YOUR THOUGHTS