काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ । नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको भन्दै बंगलादेशसँग विद्युत व्यापारका लागि चेम्बरले आग्रह गरेको हो ।
नेपाल बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा बंगलादेशी दुतावासमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल, भारत र बंगलादेशबीच भएको विद्युत व्यापार सम्वन्धी त्रिपक्षी सम्झौताको व्यवहारिक कार्यन्वयन हुनुपर्नेमा जोड दिए ।
‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यन्वयनका लागि तीन देशका ऊर्जामन्त्रीबीच तत्काल परिणाममुखी बार्ता गर्न आवश्यक छ । हामी निजी क्षत्रबाट पहल गर्छौं । बंगलादेशको सरकारबाट पनि यसको पहल होस्’ नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमान चोधुरीसँग अध्यक्ष मल्लले भने, ‘नेपाल बंगलादेशलाई विद्युत बेच्न तयारी अवस्थामा छ, ।’
नेपाल कम्तिमा अबको १ वर्षपछि विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्ने अध्यक्ष मल्लको भनाइ छ । भारतमा हालकै ट्रान्समिसन लाईनबाट कम्तिमा ५० मेवागट विद्युत निर्यातका लागि तयारी गर्न सकिने र अन्य सेवा सर्तका लागि तीन वटै मुलुकले गृहकार्य गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।
बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्र्दभमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो । नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापार सम्वन्धी सम्झौता भएपनि यसको व्यवहारिक कार्यन्वयन हुन सकेको छैन । चेम्बर अध्यक्ष मल्ले विद्युत व्यापारको सहजिकरणसंगै नेपालमा जलविद्युतमा लगानी गर्न बंगलादेशका राजदूत चोधुरीसँग आग्रह गरे ।
नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसँग आफुहरुले पहल गर्ने अध्यक्ष मल्लले बताए । नेपाल चेम्बर अफ कमर्सले आगामी असारमा गर्न लागेको चेम्बर मेलामा बंगलादेश मुख्य साझेदार रहेको छ ।
नेपालका लागि राजदूत चोधुरीले नेपालमा उत्पादिन विद्युत किन्नका लागि बंगलादेश तयार रहेको बताए । ‘अबको केही दशक भित्रै बंगलादेशले ग्रिन इनर्जीलाई प्रोतसाहन गर्ने छ । सोही अनुसार हाम्रा प्राथमिकताहरु, योजनाहरु बनिरहेका छन्’ उनले भने ‘नेपालको विद्युत खरिद गर्नका लागि हामी आतुर छौं ।’ भारतको बाटो भएर विद्युत खरिद गर्नका लागि आवश्यक प्रक्रीया तत्काल शुरु गर्न आफ्नो देशको सरकारसमक्ष पहल गर्ने राजदूत चोधुरीले बताए ।
SHARE YOUR THOUGHTS