![](https://internal.appharu.com/wp-content/uploads/2021/07/pampha-bhusal-768x475.jpg)
काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले कृषिको आयात प्रतिस्थापन गर्नुपर्ने बताएकी छिन् ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा भुषालले विद्युतको निर्यात बढाउँदै जादाँ नेपालले लाभ लिन सक्ने बताइन् ।
‘५ वर्षपछि ५० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सक्ने अवस्था बनेको छ,’ मन्त्री भुषालले भनिन्, ‘हामीले विद्युतको खपत बढाएर पेट्रोलियम पदार्थको आयातलाई घटाउन लागेका छौँ ।’
नेपालमा नदि प्रवाहका आधारित (आरवोआर) जलविद्युत् आयोजनाको संख्या धेरै हुँदा सुख्खायामका केही महिना बिजुलीको अभाव भएको बताइन् ।
‘केही समयदेखि उद्योगलाई पूर्णक्षमतामा बिजुली दिन सकिएको छैन,’ मन्त्री भुषालले भनिन्, ‘तर यो समस्या सधैं रहँदैन् । बर्खा शुरु भएसँगै विजुलीको उत्पादन बढिसकेको छ ।’
निजी क्षेत्रले आरवोआरमा आधारित आयोजना मात्रै बनाएपछि जलाशय युक्त आयोजना सरकारले बनाउने लागेको मन्त्री भुषालले बताइन ।
‘लामो समयदेखि रोकिएको बुढीगण्डकी जलविद्युत आयोजना सरकारले आफ्नै लगानीमा निर्माण गर्ने निर्णय गरिसकेको छ,’ मन्त्री भुषालले भनिन्, ‘जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएपछि नेपालमा विजुलीको अभाव हुने छैन भन्ने हामीलाई विश्वास छ ।’
नेपालमा विजुलीको उत्पादन बढ्दै जानुको साथैं निजी क्षेत्रले विकास गरेका आयोजना क्रमशः सरकारमा हस्तान्तरण हुन थालेपछि १५/२० वर्षपछि नेपालमा निकै सस्तो मूल्यमा विजुली आपूर्ति गर्नसक्ने अवस्था सिर्जना हुने भुषालले बताइन् ।
SHARE YOUR THOUGHTS