भरतपुर वडा नं. १९ मा फेरि चुनाव गर्ने कि नगर्ने भन्ने सर्वोच्च अदालतको फैसला आज

भरतपुर वडा नं. १९ मा फेरि चुनाव गर्ने कि नगर्ने भन्ने सर्वोच्च अदालतको फैसला आज

पुष्प दुलाल

काठमाडौं । भरतपुर महानगरपालिका वडा नं. १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्ने फैसला आज हुने भएको छ ।

पुनः मतदान रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा गत जेठ २२ गते न्यायधीश चोलेन्द्र शमशेर राणाको इजलासले २८ गतेसम्मका लागि कुनैपनि प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो ।

सर्बोच्च अदालतमा अधिवत्ता तुलसीराम पाण्डे र वडा नम्बर १९ का एमालेका तर्फबाट दलित सदस्य उम्मेद्वार गुन्जमान बिकले निर्वाचन आयोगलाई प्रमुख प्रतिपक्षी बनाएर रिट दायर गरेका थिए ।

निर्वाचन आयोगले भरतपुरमा मतगणना जारी रहँदा ९० मत च्यातिएपछि पुनः मतदान गराउने निर्णय गरेको थियो ।

जसमध्ये वडा नं. १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । यो सहित वडा नं.२० को मात्र मतगणना गर्न बाँकी छ ।

दुई वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहाल भन्दा ७८४ मतले अगाडि रहेका थिए ।

वडा नंम्बर १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो ।

सर्वोच्चको आदेश पर्खेर बसेका भरतपुरका एमाले र एमाओवादीका उम्मेद्वारले आफ्नो पक्षमा भोट भने मागिरहेका छन् ।