![](https://internal.appharu.com/wp-content/uploads/2022/04/Rush_ukren_war-768x435.jpg)
एजेन्सी । विश्व बैंकका प्रमुख अधिकारीहरु रुस र युक्रेनबीचको युद्धका कारण विश्वभर खाद्यान्न, उर्जा र रासायनिक मलमा मन्दी छाउने चेतावनी दिएका छन् ।
विश्व बैंकका अधिकारी डेभिड मालपासले भनेका छन्, ‘यो मन्दीको असरबाट हामी कसरी बच्न सक्छौं त्यो हेर्न बाँकी नै छ ।’
उनले कोरोना भाइरसको महामारीका कारण सिर्जित लकडाउनका शुरु भएको समस्या रुस र युक्रेनबीचको युद्धका कारण थप बढेको बताए ।
‘विश्वको जीडीपी हेर्ने हो भने निश्चित कारणबिना हामीले कसरी यो समस्याबाट बच्न सक्छौं भन्ने थाहा नै छैन,’ उनले भनेका छन् ।
उनले विश्वभर उर्जाको मूल्य दोब्बर भइसकेको अवस्थामा आर्थिक मन्दीमा समस्या थपिरहेको बताए ।
गत महिना विश्व बैंकले विश्वको आर्थिक वृद्धिदर घटाएर ३.२ प्रतिशत हुने प्रक्षेपण गरिसकेको छ । जीडीपी (ग्रस डोमेस्टिक प्रडक्ट) आर्थिक वृद्धिदरको मापक मानिन्छ । अर्थतन्त्र कति राम्रो वा नराम्रो तथा अर्थतन्त्रले कसरी काम गरिरहेको छ भन्ने विषयमा जानकारी प्राप्त गर्ने जीडीपी एक मुख्य औजारमध्येको एक हो । जसलाई अर्थशास्त्री तथा केन्द्रीय बैंकहरुले नजिकबाट नियालिरहेका हुन्छन् ।
जीडीपीको तथ्यांकले व्यवसाय बढाउने तथा कर्मचारीहरु थपघट गर्ने बारे निर्णय लिन पनि सहयोग गर्छ ।
सरकारले यसैका आधारमा करबाट उठाइएको रकम खर्च कसरी गर्ने, मूल्यवृद्धिका विषयमा कस्तो निर्णय लिने र केन्द्रीय बैंकहरुले ब्याजदर बढाउने वा घटाउने निर्णय लिन्छन् ।
मापलासले युरोप अझै पनि ग्याँस र तेलका लागि रुसमा निकै आश्रित भएको बताए ।
अमेरिकी चेम्बर अफ कमर्शले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले रुसले युरोपमा भइरहेको ग्याँसको आपूर्ति बन्द गरिदिने हो भने त्यसले मन्दी बढाउने पर्याप्त आधार तयार हुने बताए ।
उनले जमर्नीमा उर्जाको मूल्य निकै बढेकाले पनि मन्दीमा असर पुग्ने बताए । यसले विकसित देशमात्रै नभइ विकासशिल देशका लागि पनि रासायनिक मल, खाद्यान्न र उर्जाको अभावको समस्या पर्ने बताए ।
उनले चीनका आर्थिकरुपले महत्वपूर्ण सहरहरुमा भइरहेको लकडाउनका कारण पनि आर्थिक मन्दीमा थप सहयोग हुने बताए । हाल वित्तीय तथा धेरै उद्योग र सप्लाइ हुने सहर सांघाइमा भइरहेको लकडाउनका कारण विश्वभर आर्थिक मन्दीको असर पर्ने बताए ।
हाल चीनमा रियल स्टेटको क्षेत्रमा समस्या उत्पन्न भइसकेको र रुसले युक्रेनमाथि आक्रमण गर्नुअघिदेखि नै आर्थिक मन्दीको असर देखिन शुरु भइसकेको बताए । उनले चीनमा भइरहेको लकडाउनका कारण आर्थिक वृद्धिदर सुस्त हुने बताए ।
चीनका प्रिमियर लि केक्वियाङले समेत विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा सन् २०२० को महामारीदेखि आर्थिक मन्दीको असर देखिन थालेको बताइसकेका छन् ।
‘महामारीपछिको प्रगति सन्तोषजनक छैन,’ उनले भनेका छन्, ‘केही प्रान्तहरुमा अझै पनि ३० प्रतिशत व्यवसाय फेरि सञ्चालन हुन सकेका छैनन्, जसलाई निकट भविष्यम ८० प्रतिशत पुर्याउनु पर्नेछ ।’
चीनका विभिन्न क्षेत्रमा पूर्ण तथा आंशिकरुपमा भइरहेको लकडाउनका कारण र सांघाइमा लामो समयदेखिको बन्दका कारण आर्थिक मन्दीको समस्या देखिन थालेको छ ।
SHARE YOUR THOUGHTS