बजेटमा निजी क्षेत्रले उठाएका विषय सम्बोधन भएका छन्: निजी क्षेत्र « Eglish Khabarhub

बजेटमा निजी क्षेत्रले उठाएका विषय सम्बोधन भएका छन्: निजी क्षेत्र



काठमाडौं । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷७९ बजेट प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमाथि टिप्पणी गर्दैै निजी क्षेत्रले समग्रमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समग्रमा निजी क्षेत्रले उठाएको विषय सम्बोधन भएको बताए ।

कृषि र उद्योगका विषयमा धेरै कुरा समेटिएको बताए ।

‘साना र ठूला उद्योगलाई सम्बोधन गरिएको छ,’ गोल्छाले भने, ‘निर्यातको विषयमा पनि बोलिएको छ । निर्यातमा दिएको सुविधा राम्रो हो ।’

त्यस्तै, विदेशी मुद्रा आर्जनका लागि विदेशीलाई अर्पाटमेन्ट किन्न दिने विषय पनि राम्रो भएको उनले बताए ।

‘सरसर्ती हेर्दा बजेट राम्रो छ, निजी क्षेत्रका अधिकांश माग समेटिएका पनि छन्, अब समग्रमा बजेट अध्ययनपछि अन्य कुरा भन्न सकिन्छ,’ उनले भने ।

त्यस्तै, नेपाल उद्योग परिसंघको अध्यक्ष विष्णु अग्रवालले पनि आफ्नो माग सम्बोधन भएको बताए ।

रुग्ण उद्योगको जग्गा बेच्ने र व्यवस्थापन पनि सम्बोधन गरेको बताए । निर्यातलाई प्रवर्द्धन गर्न ८ प्रतिशतसम्म अनुदान दिने विषय सकारात्मक भएको उनको भनाइ छ ।

‘१० अर्बभन्दा धेरै निर्यात गर्नेलाई विद्युतमा सहुलियत दिएको छ,’ उनले भने ‘यो राम्रो विषय हो ।’

त्यस्तै, एक परिवार एक विद्युतीय चुलो कार्यक्रम धेरै राम्रो कार्यक्रम भएको भन्दै यसको कार्यान्वयमा लैजान सक्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटको आकार र जिडिजी ग्रोथ ८ प्रतिशत राखिएकोले यसको कार्यान्वयनमा अलिकति गाह्रो होला कि भन्ने आशंका व्यक्त गरे । यति हुँदाहुँदै पनि बजेटले धेरै राम्रो कार्यक्रम ल्याएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले स्वदेशी उत्पादन कृषि क्षेत्र, पर्यटन पूर्वाधारमा राम्रो कार्यक्रम आएको प्रतिक्रिया दिए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ पूर्व अध्यक्ष भवानी राणाले लामो समयदेखिको जग्गाको हदबन्दीको विषयलाई सरकारले सम्बोधन गरेको बताइन ।

विदेशी मुद्रा आर्जनका लागि अर्पाटमेन्ट किन्न दिने विषय पनि राम्रो भएको बताइन ।

‘सिमेन्टलगायतको वस्तु निर्यातमा ८ प्रतिशत अनुदान दिने घोषणा निकै राम्रो छ,’ उनले भनिन्, ‘कच्चा पदार्थभन्दा तयारी वस्तु आयातमा भन्सार धेरै लाग्ने भनिएको छ, त्यो पनि राम्रो घोषणा हो ।’

साना तथा घरेलु उद्योगको लागि राम्रा कार्यक्रम आएको तर मनोरञ्जन उद्योगलाई सम्बोधन नभएको बताइन ।

त्यस्तै, व्यवसायी दीपक मल्होत्राले समग्रमा बजेट राम्रो भएको प्रतिक्रिया दिए । निर्यात व्यापारलाई प्रवर्द्धन गर्ने र स्वदेशी उद्योगलाई सहुलित दिने विषय सकारात्मक भएको उनले बताए ।

‘बजेटले कृषि क्षेत्रमा फोकस गरेको छ,’ उनले भने ।

बजेट कार्यान्वयनमा भने धेरै ध्यान दिनुपर्ने बताए ।

‘यो बजेट अक्षरस कार्यान्वयन गर्नका लागि एक निकाय कार्यान्वयन निकाय नै खडा गर्नुपर्छ,’ मल्होत्राले भने, ‘त्यसो भएमा यसको प्रभावकारिता धेरै हुन्छ ।’

Publish on: