वित्तीय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण बनाउनुपर्छः बालेन शाह « Eglish Khabarhub

वित्तीय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण बनाउनुपर्छः बालेन शाह




काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भए बेरुजुको मात्रा घट्ने बताएका छन् ।

आन्तरिक लेखा परीक्षण तथा बेरुजु समपरीक्षण एकाईले वडा सचिव, लेखापाल र इञ्जिनियरहरुसँग गरेको अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन् ।

‘सानातिना कुरामा ख्याल नपुग्दा, तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन्’ प्रमुख शाहले भने, ‘वित्तीय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ ।’

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले हतारमा काम नगर्न सुझाव दिइन् । ‘भोलि वेरुजु देखिने गरी काम गर्नुहुँदैन’ उनले भनिन्, ‘अहिले सम्पन्न गरेका काम सम्बन्धी भोलि फाइल पल्टाएर सुरुदेखि हेर्नु नपरोस् ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले हिजोका वेरुजुलाई न्युनीकरण गर्ने र आगामी दिनमा वेरुजु हुन नदिनेतर्फ आफूले काम गरिरहेको उल्लेख गरे । ‘हामी यो आर्थिक बर्षको अन्त्यसम्ममा पेश्की शुन्य अभियानमा छौँ’ उनले भने, ‘लेखा परीक्षण प्रतिवेदनमा देखाइएका नियमित गर्न मिल्ने बेरुजुलाई नियमित गर्छौैँ । त्यस्तै समपरीक्षण र असुलउपर विधिबाट बेरुजु घटाउँछौँ ।’

महानगरले वडामा पूर्वाधार विकास र प्रशासनिक खर्च निकासा दिने गरेको छ । निकासा गरिएको रकम खर्च गर्दा देखिएका वेरुजु व्यवस्थापनका लागि वडाका कर्मचारीहरुसँग अन्तरक्रिया गरिएको बताइएको छ । लेखा परीक्षण तथा समपरीक्षण एकाई प्रमुख गोपालप्रसाद पोरखेलका अनुसार वेरुजु फस्र्यौटको २९ प्रतिशत लक्ष्य हासिल भएको छ ।

Publish on: