![](https://internal.appharu.com/wp-content/uploads/2020/07/nrb-1.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)लाई बोलाएर नियम विपरित कर्जाको ब्याजदर नबढाउन कडा निर्देशन दिएको छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिना तथा बमबहादुर मिश्र सहित नियमन विभागका प्रमुख गुणाकर भट्ट तथा सुपरिवेक्षण विभागका प्रमुख देवकुमार ढकाल तथा विदेशी बिनिमय विभागका प्रमुख गुरु पौडेल सहित उच्च अधिकारीले २७ वटा वाणिज्य बैंकका सीइओलाई बोलाएर कम्प्लाइन्स कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
राष्ट्र बैंकले बैंकका सीइओलाई असार मसान्तसम्म सिडी रेसियोको सीमा ९० प्रतिशतमा जसरीपनि झार्न र त्यसमा कुनैपनि संसोधन नहुने भन्दै नियम कार्यान्वयन गर्न भनेको छ ।
‘सिडी रेसियो सम्बन्धि कुनै नीति परिवर्तन हुन्छ भन्ने नसोच्नुहोला,’राष्ट्र बैंकले बैंकका असुपरिवेक्षण विभागका प्रमुख ढकालले सीइओहरुलाई भने ।
यसबाहेक राष्ट्र बैंकले स्थानीय तहको पैसा निक्षेपको रुपमा देखाउन पाइने व्यवस्था असारसम्मको लागि मात्र लागू हुने हुँदा सो अनुसारको व्यवस्था कार्यान्वयन गर्न भनेको छ ।
राष्ट्र बैंकले नाफा देखाउने गरेर मात्र ब्यालेन्ससिट नबनाउन भनेको छ । ‘नाफामात्र हेर्दा ब्यालेन्ससिट वास्तविक नहुने स्थिती नहोस्,प्रोभिजनका नियमहरु सबै कार्यान्वयन होस्,’ भन्ने सन्देश राष्ट्र बैंकले दिएको बैठकमा सहभागी एक वाणिज्य बैंकका सीइओले जानकारी दिए ।
राष्ट्र बैंक सुपरिवेक्षण विभागका निर्देशक सतेन्द्र तिमिल्सिनाले राष्ट्र बैंकको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै बैंकिङ क्षेत्रको तथ्यांकको बारेमा जानकारी गराएका थिए । उनको कार्यपत्रमा बैंकहरुले निक्षेपभन्दा बढी कर्जा दिएको तथा प्रणालीगत जोखिम निम्ताएको विषय उल्लेख थियो ।
यसबाहेक राष्ट्र बैंकले ग्राहकलाई कर्जाको ब्याजदरमा अनावश्यक शुल्क नथप्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सेवा शुल्कदेखि विभिन्न विषयमा निर्देशन लगाएपनि बैंकहरुले लुपहोल खोज्दै कर्जाको ब्याजदर बढाउने काम गरेका छन् ।
बैठकमा सहभागी बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले राष्ट्र बैंकले असार मसान्तपछि कार्यान्वयन गर्ने नीतिहरुको बारेमा जानकारी गराएको बताए ।
‘सीडी रेसियो,प्रोभिजनदेखि केही व्यवस्था असार मसान्तदेखि बैंकहरुले लागू गर्नुपर्ने हुन्छ,त्यसको बारेमा सचेत गराउने काम राष्ट्र बैंकबाट भयो,’उपाध्यायले क्लिकमाण्डूसँग भने ।
राष्ट्र बैंकले अहिले सीडी रेसियो ९० प्रतिशत माथि १५ वटा बैंकको भएको तथा जसमा ७ वटा बैंकको ९२ प्रतिशतभन्दा बढी रहेको जानकारी गराएको थियो । यसबाहेक प्रोभिजनको व्यवस्थाले पुँजीकोष अनुपातमा दवाव पर्ने जानकारी समेत राष्ट्र बैंकले बैंकरलाई गराएको थियो ।
राष्ट्र बैंकले स्थगित गरेको काउन्टर साइलिङ बफर समेत आउने वर्षदेखि लागू गर्ने छ । केही कर्जामा जोखिम भार समेत असार मसान्तदेखि लागू हुने गरेर बढाएको हुँदा पुँजीकोषमा थप दवाव पर्ने छ ।
यस्तै राष्ट्र बैंकले मर्जरको लागि असार मसान्तसम्ममात्र छुटको लागि सीमा भएको जानकारी बैंकका सीइओलाई दिएको छ । बैठकमा अधिकाशं बैंकका सीइओ सहभागी थिए । केही बैंकबाट डेपुटी सीइओ सहभागी थिए ।
SHARE YOUR THOUGHTS