
काठमाडौं । प्रदेश नम्बरमा १ मा सञ्चालित बीएण्डसी मेडिकल कलेज विर्तामोड र नोवेल मेडिकल कलेजले स्वास्थ्य बीमा वापतको १ अर्ब रुपैयाँ तत्काल भुक्तान गर्न सरकार समक्ष माग गरेका छन् ।
स्वास्थ्य बीमा बोर्डबाट प्राप्त गर्नुपर्ने उक्त रकम नपाएको भन्दै उनीहरुले तत्काल भुक्तानीको माग गरेका हुन् ।
काठमाडौंमा बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै दुबै मेडिकल कलेजले भुक्तानी नपाए असार २० गतेदेखि सेवा नदिने नसक्ने घोषण गरेका छन् ।
बोर्डले बिरामीलाई सेवा दिएवापतको रकम भुक्तानी पाउनुपर्ने थियो । तर रकम नपाएका कारणले सेवा दिन असमर्थ रहेको उनीहरूको भनाइ छ ।
स्वास्थ्य बीमा बोर्डले बीएण्डसीलाई ४५ करोडभन्दा बढी र नोवेल मेडिकल कलेजलाई ५४ करोड ३८ लाख रूपैयाँ भुक्तानी गर्न बाँकी छ । यी अस्पतालहरूले गत मंसिरदेखि भुक्तानी नपाएका हुन् ।
कार्यक्रमको शुरूवात भएको झापा जिल्लाबाट कार्यक्रममा सबैभन्दा धेरै बीमित छन् ।
बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले झापा जिल्लामा मात्रै करिब ७ लाख बीमित रहेको बताए । स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका बिरामीलाई उपचार गरेवापतको रकम उनीहरुले पाउनुपर्नेछ ।
‘स्वाथ्य बीमा बोर्डसँग सम्झौता गर्दा बीमा कार्यक्रममा जोडिएका बिरामीको उपचार वापतको रकम १५ दिनभित्र पाउने व्यवस्था थियो,’ प्रसाईंले भने, ‘तर, डेढ वर्षभन्दा लामो समयसम्म पनि करोडौं रकम भुक्तानी पाउन सकेका छैनौं । समयमा नै रकम नपाउँदा समस्यामा परेका छौं ।’
‘असार २० गतेभित्र बाँकी रहेको भुक्तानी गर्न बीमा बोर्डलाई आग्रह गरेका छौ,’ प्रसाईंले थपे, ‘भुक्तानी भएन भने असार २० गतेदेखि स्वास्थ्य बीमा सेवा दिन असमर्थ छौ ।’
नोबेल मेडिकल कलेजले यस कार्यक्रममा जोडिएका बिरामीलाई उपचार गरेवापत ५४ करोड ३८ लाख रूपैयाँ रकम लिन बाँकी रहेको दाबी गरेको छ ।
‘मेडिकल कलेज सञ्चालन गरेवापत राज्यलाई २५ प्रतिशत कर तिर्नुपर्छ,’ प्रसाईंले भने, ‘यदि समयमा कर नबुझाए सरकारले थप जरिवाना पनि गर्छ ।’
बोर्डले रकम दिन ढिलाई गर्दा अस्पतालमा कार्यरत कर्मचारीलाई तलब दिन नसेकेको नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक समिति सदस्य भीमबहादुर चन्दले बताए ।
‘हामीले दैनिक १५ सयदेखि १८ सय बिरामीलाई सेवा दिएका छौ, हामीले स्थापनाकालदेखि नै बीमा सेवा शुरू गरेका थियौ,’ चन्दले भने, ‘गत मंसिरदेखि ५४ करोड ३८ लाख रूपैयाँ बाँकी छ, जसले कर्मचारीलाई ३ महिनादेखि नै तलब खुवाउन सकेका छैनौ ।’
SHARE YOUR THOUGHTS