
काठमाडौं । धितोपत्र बोर्डले १०६ वटा संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति दिएको छ ।
बोर्डका अनुसार सोमबार थपिएका ६ वटासहित योग्य संस्थागत लगानीकर्ताको संख्या १०६ वटा पुगेको हाे । नयाँ कम्पनीमा गौरव नेपाल इन्भेष्टमेन्ट, नबिल ब्यालेन्स फण्ड-३, पशुपति भेञ्चर र क्यापिटल, समृद्धि फाइनान्स कम्पनी, कामना सेवा विकास बैंक र सिद्धार्थ व्यवस्थित लगानी योजना छन् ।
बोर्डमा दिएको निवेदनका आधारमा उनीहरुको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका ६ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति दिएको हो । यसअघि योग्य संस्थागत लगानीकर्ता १०० वटा पुगिसकेका थिए ।
बोर्डले धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरेको छ ।
बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीति लगायतका विवरण र अध्ययनका आधारमा धितोपत्रको आशय मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक निष्काशनको मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत् धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्ने बताइएको छ ।
SHARE YOUR THOUGHTS