विज्ञहरु भन्छन्- बौद्धिक सम्पत्ति सम्बन्धी नेपालको कानून समयानुकुल छैन « Eglish Khabarhub

विज्ञहरु भन्छन्- बौद्धिक सम्पत्ति सम्बन्धी नेपालको कानून समयानुकुल छैन



काठमाडौं । विज्ञहरुले नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धी कानून प्रभावकारी नभएको बताएका छन् । नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजले बुधबारआयोजना गरेको बौद्धिक सम्पत्ति सम्बन्धी छलफल कार्यक्रममा वक्ताहरुले नेपालमा यससम्बन्धी कानून प्रभावकारी नभएको बताएका हुन् ।

बौद्धिक सम्पत्ति सम्बन्धी विज्ञ अधिवक्ता सज्जनबीर सिंह थापाले नेपालले अहिले पनि बौद्धिक सम्पत्ति सम्बन्धी ५७ वर्ष पूरानो कानून कार्यान्वयन प्रयोग भइरहेको बताए । ‘पछिल्ले १६ वर्षदेखि कानून संशोधन भएको छैन,’ थापाले भने, ‘जसले गर्दा पछिल्लो समय भएका कयौँ परिवर्तन कानूनमा समेटिन सकेको छैन ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ३ वर्ष पहिला बौद्धिक सम्पत्ति सम्बन्धी विधेयकका विषयमा छलफल भएपछि अहिलेसम्म नयाँ कानून बन्न नसक्दा बौद्धिक सम्पत्ति संरक्षणमा समस्या भएको थापाको भनाइ छ । ‘नेपालमा कानून निर्माण भन्दा पनि कानून कार्यान्वयन गर्न समस्या छ,’ थापाले भने, ‘कर्मचारीतन्त्र र न्यायालयले बौद्धिक सम्पत्तिको गम्भीरता नबुझ्दा झनै समस्या भएको छ ।’

कुनै व्यक्तिले सिर्जना गरेको डिजाइन, पेटेन्ट, ट्रेडमार्क, लेखरचना, फोटो, भिडियो लगायतका सम्पत्तिलाई बौद्धिक सम्पत्ति भनिन्छ । बौद्धिक सम्पत्तिलाई ज्ञानमा आधारित अर्थतन्त्र पनि भन्ने गरिन्छ ।

कार्यक्रममा सूर्य नेपाल प्रालीका प्रबन्ध निर्देशक रवि रायाभरमले संसारभर कुल अर्थतन्त्रको एक तिहाइ अर्थतन्त्र ज्ञानमा आधारित बौद्धिक सम्पत्ति भए पनि नेपालमा भने बौद्धिक सम्पत्ति सम्बन्धी कानून निकै कमजोर भएको बताए ।

‘सूर्य नेपालको प्यारेन्ट कम्पनी आइटिको चर्चित ब्राण्ड क्लासमेटलाई नेपालमा ८ वर्षदेखि केही व्यक्तिले दर्ता गरेर नेपाली ब्राण्ड भन्दै कपी उत्पादन गरिरहेका छन्’, रायाभरमले भने, ‘विदेशी व्राण्डलाई नेपालमा दर्ता गरेर विभिन्न व्यवसाय सञ्चालन भइरहेको छ । नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धी कानून कमजोर भएकोले प्रत्यक्ष वैदेशिक लगानी प्रभावित भइरहेको छ ।’

रायाभरमले संसारका चर्चित ब्राण्डलाई संरक्षण गर्ने नेपालमा कडा कानून बन्नु पर्ने बताए । ‘उस्तै नाम भएका कम्पनी स्थापना गर्न दिने व्यवस्थाले दु:ख गरेर स्थापना भएका ब्राण्डलाई असर गरिरहेको छ,’ रायाभरमले भने, ‘हरेक दुई वर्षमा कर्मचारी सरुवा हुने प्रावधानले समेत बौद्धिक सम्पत्ति सम्बन्धी कानून कार्यान्वयनमा समस्या भइरहेको छ ।’

कार्यक्रममा किरण सुजका प्रबन्ध निर्देशक अमिरप्रताप राणाले बौद्धिक सम्पत्ति सम्बन्धी बलियो कानून नहुँदा गोल्डस्टार जुत्ताले समस्या भोगिरहेको बताए । ‘बौद्धिक सम्पत्ति सम्बन्धी बलियो कानून बनाउन सकिएन भने हामीले विदेशी लगानी ल्याउन सक्दैनौँ,’ राणाले भने, ‘नेपालको सीमा क्षेत्रमा गोल्डस्टारसँगै अन्य विदेशी ब्राण्ड कपि गरेर जुत्ता बनाउने बिकृति बढेको छ । जसले गर्दा दु:ख गरेर ब्राण्ड बनाएका उद्योगीहरु निराश बनेका छन् ।’

पूर्व उद्योग सचिव कृष्ण ज्ञवालीले अन्तर्राष्ट्रिय अभ्यास अनुसार नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धी कानून संशोधन हुन नसकेको बताए । ‘नेपालमा बोद्धिक सम्पत्ति सम्बन्धी कानून सुधार गर्ने विषय सरकारको प्राथमिकतामा नभएको साँचो हो’ पूर्व सचिव ज्ञवालीले भने’, ‘आज यो कार्यक्रममा उद्योग मन्त्री र सचिव आउनु भएको छ । यसले बौद्धिक सम्पत्तिमा सरकारको चासो छ भन्ने देखाएको छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बौद्धिक सम्पत्ति सम्बन्धी पुराना कानूनले उद्योग स्थापना गर्न कठिनाइ भएको बताए । ‘बौद्धिक सम्पत्ति सम्बन्धी कानूनको जुन ड्राफ्ट बनेको छ, त्यसलाई सबै सरोकारवालासँग छलफल गरेर अगाडि बढाउनु पर्छ,’ ढकालले भने,‘ यस्तै हामीले बौद्धिक सम्पत्ति सम्बन्धी सचेतना कार्यक्रममा अगाडी बढाउन जरुरी छ ।’

लगानीकर्तालाई सहज हुने गरी बौद्धिक सम्पत्ति सम्बन्धी कानून बनाउनु पर्ने ढकालको माग छ ।

यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बौद्धिक सम्पत्ति सम्बन्धी कानून समयानुकल परिमार्जन नहुँदा उद्योगी व्यवसायीलाई समस्या परेको बताए । ‘प्रतिलिपी अधिकारी र प्याटेन्ट, डिजाइन र ट्रेडमार्कलाई संविधानले मौलिक हकमा राखेको छ’, अधिकारीले भने, ‘तर, उक्त हकलाई सुरक्षित गर्ने गरि समयानुकुल कानून बन्न सकेको छैन ।’

पछिल्लो परिवर्तनलाई सम्बोधन गर्दा बौद्धिक सम्पत्ति सम्बन्धी नयाँ कानून निर्माण गरिए नेपालमा लगानी प्रवर्धन गर्न सहज हुने अधिकारीको भनाइ छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले बौद्धिक सम्पत्ति सम्बन्धी कानून तत्काल संशोधन गर्न आग्रह गरे ।

Publish on: