
फोर्ब्स । चिनियाँ अटोमोबाइल कम्पनी बीवाईडीका सहसंस्थापक तथा प्रमुख कार्यकारी वाङ चुआनफूले एकै झट्कामा २ खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति गुमाएका छन् । विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीमा भएकाे सेयर वारेन बफेटले बिक्री गरेसँगै वाङको सम्पत्ति पनि घटेको हो ।
सेयर बादशाह वारेन बफेटको कम्पनी ब्रेकसायर हाथवेले चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीमा भएको सेयर बिक्री गरेको हो ।
सन् २००८ मा हाथवेले बीवाईडीमा लगानी गरेको थियो । हाथवेले आफ्नो हिस्सामा रहेको केही प्रतिशत सेयर बिक्री गरेसँगै कम्पनीको सेयर मूल्य घट्न शुरु गरेको थियो । र, सेयर मूल्य घट्ने क्रम आगामी दिनमा पनि अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
हङकङको स्टक एक्सचेञ्जमा सूचीकृत बीवाईडी कम्पनीको सेयर बुधबार मात्रै १२ प्रतिशतले ओरालो लागेको छ । नियमनकारी निकायले सार्वजनिक गरेको तथ्यांक अनुसार ब्रेकसायर हाथवेले २०.०४ प्रतिशत सेयर स्वामित्वबाट घटाएर १९.९२ प्रतिशतमा झारेको छ । जसबाट कम्पनीले ४७ मिलियन डलर कमाएको छ । कम्पनीले १० लाख ३३ हजार कित्ता सेयर बिक्री गरेको थियो । अगष्ट २४मा कम्पनीले प्रतिकित्ता हङकङ मुद्रा २७७ मा सेयर बिक्री गरेको थियो ।
हङकङको कम्पनी एभरब्राइट सेक्युरिटिजमा सेक्युरिटी रणनीतिकारका रुपमा काम गरिरहेका केनी एनजीका अनुसार आगामी दिनमा हाथवेले अझ बढी सेयर बिक्री गर्न सक्ने देखिएको छ ।
‘वारेन बफेटले त्यो समयमा कम्पनीको सेयर खरिद गरेका थिए जतिबेला कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ हङकङ मुद्रा मात्रै थियो,’ केनी एनजीले भनेका छन्, ‘बीवाईडीको अहिलेको मूल्य सस्तो होइन र बफेटले निकै राम्रो प्रतिफल प्राप्त गर्न सफल भएका छन् ।’
वाङले सञ्चालन गरिरहेको कम्पनीको प्राइस टु अर्निङ रेसियो ७४ प्रतिशतले बढेको छ । हाथवे कम्पनीले एक दशकअघि २२५ कित्ता सेयर २३० मिलियन डलरमा खरिद गरेका थिए । हाल बीवाईडी कम्पनी चीनमा शीर्ष स्थानको विद्युतीय कार निर्माता कम्पनी बन्न सफल भएको छ ।
बीवाईडीले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार कम्पनीले हालै आफ्नै ब्याट्री उत्पादन गरिरहेको छ । साथै आफ्नै अटो पार्टस समेत उत्पादन गरिरहेको छ ।
कम्पनीले सन् २०२२ को पहिलो ६ महिनामा विश्वभर ६ लाख ४१ हजार ३५० वटा कार बिक्री गरिसकेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३१५ प्रतिशतले बढी बिक्री हो । जसले कम्पनीको आम्दानी ६५.७ प्रतिशतले बढेर १५०.६ बिलियन युआन पुगेको छ । जुन २१.८ बिलियन अमेरिकी डलर बराबर हो । साथै, कम्पनीको खुद आम्दानी २०० प्रतिशतभन्दा बढीले बढेर ५३० मिलियन डलर पुगेको छ ।
चीनको सेनजेनमा रहेको कम्पनी मर्निङस्टार इक्विटी रिसर्चका विश्लेषक भिन्सेन्ट सनका अनुसार बीवाईडी कम्पनीको लक्ष्य प्रतिसेयर ३१५ हङकङ मुद्रा पुर्याउनु थियो । उनले हाथवे कम्पनीले सन् २००७ मा पेट्रो चाइना कम्पनीको सेयर बिक्री गर्दा पनि यस्तै अवस्था आएको बताए ।
हाथवे कम्पनीले बीवाईडीमा भएको सेयर स्वामित्व अझै घटाउने रणनीतिमा भएको हुनसक्ने हङकङमा रहेको किङ्सटोन सेक्युरिटिजका कार्यकारी निर्देशक डिकी वाङको भनाइ छ । तर चिनियाँ विद्युतीय कार निर्माता कम्पनीहरुको व्यापार राम्रो भइरहेको अवस्थामा कम्पनी आफैले सेयर आफैसँग पनि राख्न सक्ने उनको अनुमान छ ।
‘बीवाईडी यस्तो विद्युतीय कार कम्पनी हो जसले टेस्लासँग प्रतिष्पर्धा गर्न सक्छ,’ वाङले भने, ‘यसैकारण हाथवेले केही प्रतिशत सेयर मात्रै बिक्री गर्न सक्छ ।’
तर सेयर बिक्री अझ बढ्यो भने यसले लगानीकर्ताका लागि भने निकै पीडादायी हुनसक्ने उनको भनाइ छ ।
सहसंस्थापक वाङले सन् १९९५ मा ब्याट्री निर्माताका रुपमा परिचित छन् । र, उनी सन् २००३ देखि अटो क्षेत्रमा प्रवेश गरेका थिए । वाङसँग अहिले बीवाईडी कम्पनीको १७.६ प्रतिशत सेयर स्वामित्व छ । जुन आजका दिनमा २२.२ बिलियन डलर बराबरको सम्पत्ति हो ।
SHARE YOUR THOUGHTS