
काठमाडौं । भारत सरकारले चामल निर्यातमा २० प्रतिशतमा कर लगाएको छ । भारत सरकारले आन्तरिक आपूर्तिलाई सहज र बलियो बनाउनका लागि भन्दै चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
भारत सरकारले यसअघि गहुँ, चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । रुस र युक्रेनबीचको द्वन्द्वले खाद्यान्न आपूर्ति गर्न समस्या भएको र आन्तरिक बजारमा आचक्ली मूल्य बढेकाले बजारमा व्यवस्थित गर्त भारत सरकारले गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
त्यस्तै, अहिले भारत सरकारले एकपछि अर्को निर्णय गर्दै खाद्यान्न निर्यातमा कडाइ गर्दै लगेको छ । भारत सरकारले बासमतीबाहेकको अन्य चामल निर्यातमा २० प्रतिशत निर्यात भन्सार महसुल लगाउने निर्णय भएको रोयटर्सले जनाएको छ ।
भारतले विश्वका १५० भन्दा बढी देशमा चामल निर्यात गर्दै आएको छ । भारतीय सञ्चारमाध्यमअनुसार भारत सरकारले यो वर्ष धानको उत्पादन घटेको कारणले पनि निर्यातमा कडाइ गरेको जनाएको छ । यो वर्ष भारतमा ५.६२ प्रतिशत धान रोपाइँ घटेको छ ।
चीनपछि भारत विश्वकै सबैभन्दा बढी धान उत्पादन गर्ने देश हो । विश्भर उत्पादन हुने धानमा भारतको ४० प्रतिशत हिस्सा रहेको सञ्चारमाध्यममा उल्लेख छ ।
भारत सरकारले सन् २०२१/२२ मा मात्रै २ करोड १२ लाख टन चामल निर्यात गरेको थियो । जसमा भारत सरकारले बासमति चामल मात्रै ३९ लाख ४० हजार टन निर्यात गरेको थियो । साथै, बासमतिबाहेक अन्य चामल ६.११ अर्ब डलरको निर्यात गरेको थियो ।
भारत सरकारले २० प्रतिशत कर लगाएसँगै नेपालमा त्यसको प्रत्यक्ष असर देखिने भएको छ । नेपालले वार्षिक ५० अर्बको हाराहारीमा चामल आयात गर्ने गरेको सरकारी तथ्याङ्कले देखाउँछ । नेपालले अधिकांश चामल भारतबाट आयात गर्ने भएकाले आगामी दिनमा चामलको मूल्य बढ्ने देखिन्छ ।
SHARE YOUR THOUGHTS