बजारमा माग नभएपछि १२०० भन्दा बढी गाडी भन्सारमै थन्किए « Eglish Khabarhub

बजारमा माग नभएपछि १२०० भन्दा बढी गाडी भन्सारमै थन्किए



काठमाडौं । चार पांग्रे गाडीको आयातमा प्रतिबन्ध लागेको ५ महिना हुँदा समेत बजारमा गाडीको अभाव छैन ।

पछिल्लो समय चार पांग्रे गाडीको माग घटेपछि व्यवसायीले भन्सारबाट गाडी जाँचपास गराउनै छाडेका छन् ।

विगतका वर्षहरुमा दशैंको समयमा दैनिक सयौं गाडी भन्सार छुटेर आउने भएपनि पछिल्लो समय गाडी जाँचपास हुने क्रम रोकिएको छ ।

बैंंक तथा वित्तीय संस्थाले गाडी कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिन थालेपछि पछिल्लो समय गाडी किन्ने उपभोक्ता घटेका छन् ।

आन्तरिक राजस्व विभागले गाडी खरिद गर्न आम्दानीको स्रोत देखाउनु पर्ने भन्दै स्थायी लेखा नम्बर अनिवार्य गरेपछि समेत चार पांग्रे गाडीको माग घटेको छ ।

गत चैत २३ गतेपछि बैंक तथा वित्तीय संस्थाले नयाँ गाडी आयात गर्न प्रतितपत्र (एसली) खोलेका छैनन् ।

पछिल्लो ६ महिनादेखि नयाँ गाडी आयातका लागि एलसी नखुल्दासमेत भन्सार कार्यालयको यार्डमा १ हजार २०० भन्दा बढी गाडी थन्किएका हुन् ।
राष्ट्र बैंकले गत चैतमा बैंक तथा वित्तीय संस्थालाई गाडी आयातका लागि एलसी नखोल्न निर्देशन दिएपछि नाडा अटोमोबाइलस् एसोसियन अफ नेपालका पदाधिकारीले अर्थमन्त्री र प्रधानमन्त्रीलाई भेटेर राष्ट्र बैंकको नीतिले आफ्नो व्यवसाय धरासायी हुने गुनासो थिए ।

उनीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीलाई दुई महिनाभन्दा बढी अवधीका लागि आफुहरुसँग स्टक नभएकाले राष्ट्र बैंकको निर्णय खारेज हुनु पर्ने माग गरेका थिए ।

तर, सरकारले व्यवसायीको माग विपरित गत बैशाख ५ गते देखि चार पांग्रे सवारी साधानको आयातमै प्रतिबन्ध लगाएको थियो ।

राष्ट्र बैंकले एलसी खोल्न बन्दैज लगाउनु भन्दा अगाडी नै केही व्यवसायीले धेरै गाडी आयात गर्न एलसी खोलेका थिए । किया मोटर, टाटा, हुण्डाई लगायतका कम्पनीले गरेको अर्डर अनुसार गाडीहरु भन्सार विन्दुमा पुगेका छन् ।

तर, व्यवसायीले भन्सार शुल्क, अन्तशुल्क तिरेर गाडी जाँचपास गर्नु भन्दा भन्सार यार्डमा गाडी छोडेका छन् । भन्सारबाट गाडी नछुटाएका व्यवसायीले एलसी अवधी भने बढाइरहेका छन् ।

शुरुमा एलसी खोल्दा ६ महिनाभित्र रकम भुक्तानी गर्ने सम्झौता थियो । तर, नेपाली बजारमा गाडीको माग घटेपछि व्यवसायीले एलसी अवधी बढाउन आग्रह गर्दै गाडी आपूर्तिकर्ता कम्पनीलाई पत्र लेखेका हुन् ।

भन्सार जाँचपास गराए लगत्तै गाडी आपूर्तिकर्ता कम्पनीलाई गाडी खरिदको रकम भुक्तानी गर्नु पर्ने र सरकारलाई समेत राजस्व तिर्नु पर्ने तर बजारमा गाडी बिक्री हुने कुनै सुनिश्चित नभएपछि व्यवसायीले भन्सार यार्डमा गाडी छोडेका हुन् ।

‘सस्तो गाडीको पनि खरिद मूल्य र भन्सार महशुलमा ३० लाख रुपैयाँ खर्च हुन्छ, तर त्यति रकम खर्च गरेर सोरुममा गाडी थन्क्याउनु भन्दा भन्सार यार्डमा गाडी राख्नु नै सस्तो पर्छ,’ एक व्यवसायीले भने, ‘त्यसैले हामीले गाडी जाँचपास नगरेका हौं ।’

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बीरगञ्ज र भैरहवा भन्सारमा विभिन्न ब्राण्डका १२ सयभन्दा बढी गाडी जाँचपास नभएर यार्डमा थन्किएको जानकारी दिए । बीरगञ्जमा ९ सय र भैरहवामा ३ सय कर्मसियल गाडी जाँचपास नभएको विभागको भनाइ छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले भन्सारको यार्डमा ३०० भन्दा बढी चार पांग्रे गाडी भन्सार जाँचपास नभएको जानकारी दिए ।

‘६० दिनभित्र जाँचपास नगर्दा बिलम्ब शुल्क लाग्छ,’ ढकालले भने, ‘हामीले कानून अनुसार बिलम्ब शुल्क लिन्छौं । तर, हामीले व्यवसायीलाई तत्कालनै गाडी जाँचपास गर्नुस् भन्न मिल्दैन ।’

गाडीमा ३० लाख खर्च गरेर शोरुममा राख्नुभन्दा बिलम्ब शुल्क तिर्न सम्तो पर्ने भएकाले व्यवसायीले गाडी जाँचपास नगरेका हुन् ।

‘तीन महिनाका लागि ३० लाख रुपैयाँ मुद्दती खातामा राख्दा १ लाख १२ हजार रुपैयाँसम्म ब्याज कमाउन सकिन्छ,’ एक व्यवसायीले भने, ‘तीन महिना जाँचपास नगर्दा ३० हजार पनि बिलम्ब शुल्क लाग्दैन । त्यसैले हामीले माग भएपछि मात्रै गाडी जाँचपास गर्ने योजना बनाएका हौं ।’

Publish on: