एमालेसंग गठबन्धन गरेको भन्दै जसपाका चार मन्त्री पदमुक्त « Eglish Khabarhub

एमालेसंग गठबन्धन गरेको भन्दै जसपाका चार मन्त्री पदमुक्त



काठमाडौं । मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा एमालेसंग गठबन्धन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका ४ मन्त्रीलाई बर्खास्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदमुक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ७७ को उपधारा २० को खण्ड ख बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी, भौतिक पूर्वाधार तथा यातायात र वन तथा वातावरण मन्त्रीलाई पदमुक्त गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा उनीहरुले सम्हाली आएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । वर्तमान मन्त्रिपरिषद् २०७८ असार २९ गते गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको थियो । 

अहिले मन्त्रिपरिषद्मा सामान्य प्रशासनमन्त्रीमा राजेन्द्रप्रसाद श्रेष्ठ, कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव थिए  यस्तै राष्ट्रपतिले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोकेकाे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Publish on: