![](https://internal.appharu.com/wp-content/uploads/2019/07/petrol.jpg)
काठमाडौं । इण्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेर आएको मूल्यसूची पठाएको छ । निगमले आइतबार सूचना जारी गर्दै डिजेल र हवाई इन्धनको अत्यधिक मूल्य बढेर आएको जनाएको छ।
पहिलोपटक १ अक्टोबरमा आईओसीबाट प्राप्त पेट्रोलियम पदार्थको खरिद मूल्य सूची बमोजिम पेट्रोल, डिजेलगायत अन्य पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकोले २० महिनाको लामो अन्तरालपछि निगम नाफामा आएको थियो ।
पुनः अक्टोबर १६ अर्थात् असोज ३० मा आईओसीबाट मूल्य सूची प्राप्त हुँदा खासगरी डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आएको निगमको भनाइ छ ।
सोअनुसार पेट्रोलमा प्रतिलिटर १.७४ रुपैयाँ, डिजेलमा प्रतिलिटर १५.६० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १०.२५ रुपैयाँ प्रतिलिटर बढेर आएको निगमले जनाएको छ ।
उक्त मूल्य बढेर आउँदा आयल निगमलाई डिजेलमा प्रतिलिटर ६.३४ रुपैयाँ, (१८ करोड ५१ लाख) र एलपी ग्यासमा ३२५.४४ प्रति सिलिण्डर (३७ करोड ६० लाख रुपैयाँ) घाटा भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड रुपैयाँ नाफा हुने प्रक्षपण गरिएको छ ।
निगमले यसअघि आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा मूल्य नघटाइ बढीरहेको मूल्यनै कायम राखेको थियो ।
निगमले आईओसी, नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब ३३ अर्ब ६० करोड रुपैयाँ रकम तिर्न बाँकी छ ।
पेट्रोलियम पदार्थ खरिदका लागि नेपाल सरकारसँग ७ अर्ब र वाणिज्य बैंकसँग ३ अर्ब ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण गर्दै आएको निगमले जनाएको छ ।
SHARE YOUR THOUGHTS