२० बैंकलाई ऋणको ब्याजदर घटाउन दबाब « Eglish Khabarhub

२० बैंकलाई ऋणको ब्याजदर घटाउन दबाब



काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नयाँ नीतिको प्रभाव २० वटा बैंकमा पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा गर्दै बैंकको स्प्रेडदर (कर्जा-ब्याजदर बीचको अन्तर) घटाउने नीति लिएको छ । उक्त नीतिको असर अहिले २० वटा बैंकलाई पर्ने भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै ‘वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिनेछ । तर, केन्द्रिय बैंकले परिपत्र जारी गरेपछि मात्रै यो नीति लागू हुन्छ ।

यसबाट बैंक तथा वित्तीय संस्थाहरुको आधार दर घट्न गई समग्रमा ब्याजदर घट्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । उता बैंकरहरु भने यो नीतिका कारण १५ अर्ब रुपैयाँको हाराहारीमा आम्दानी घट्ने बताउँछन् ।

सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकको औषत स्प्रेडदर ४.२० प्रतिशत रहेको छ । पछिल्लो तथ्याङक अनुसार ५ वटा बैंकको स्प्रेडदर ४ प्रतिशत भन्दा कम छ । ४ प्रतिशत भन्दा कम स्प्रेडदर हुने बैंकमा ग्लोबल आइएमई ३.८६, स्टयान्डर्ड चार्टर्ड ३.८७, नेपाल इन्भेष्टमेन्ट ३.८८, कृषि विकास बैंक ३.८९, प्रभु बैंकको ३.९८ प्रतिशत रहेको छ । यस्तै सानिमा बैंकको ४ प्रतिशत रहेको छ । बाँकी २० वटा बैंकको स्प्रेडदर ४ प्रतिशत भन्दा बढी रहेको छ ।

स्प्रेडदर ४ प्रतिशत भन्दा बढी हुने बैंकमा नबिल बैंक ४.०३, सिद्धार्थ बैंक ४.०५, नेपाल बैंक ४.०८, सिटिजन्स बैंक ४.२४, राष्ट्रिय वाणिज्य बैंक ४.२६, एभरेष्ट बैंक ४.२६, मेगा ४.२८, सनराइज ४.३०, प्राइम ४.३१, लक्ष्मी ४.३१, माछापुच्छ«े ४.३३, सेञ्चुरी ४.३३ प्रतिशत रहेको छ ।

यस्तै कुमारी बैंकको स्प्रेडदर ४.३४, एनएमबी ४.३५, एनसीसी बैंक ४.३७, सिभिल बैंक ४.३८, एनआईसी एशिया बैंक ४.३९, बैंक अफ काठमाण्डू ४.३९, नेपाल एसबीआई बैंक ४.३९ र हिमालयन बैकको ४.३९ प्रतिशत रहेको छ ।

४ प्रतिशत भन्दा बढी स्प्रेडदर भएका बैंकलाई कर्जाको ब्याजदर घटाउन दबाब पर्ने भएको छ ।

Publish on: