![](https://internal.appharu.com/wp-content/uploads/2022/12/dollar-768x432.jpg)
एजेन्सी । पाकिस्तानमा अहिले डलरको निकै अभाव देखिएको छ । पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा डलरको अभाव भएसँगै त्यहाँ आयात गरिएका सामानहरुको निकासीका लागि समेत असहज अवस्था सिर्जना भएको छ ।
देशमा रहेका डलर प्रवाहका स्रोतहरु खुम्चिदैं जानु र विदेशी ऋण तिर्न नसक्दा पाकिस्तानको मुद्रा विनिमय कोष चार वर्षकै न्यून बिन्दुमा झरेको छ ।
पाकिस्तानमा आयात गरिएका सामग्रीहरुको निकासीमा भइरहेको समस्याका कारण औषधि उत्पादक एक कम्पनीका मालिक कैसर वहीद पछिल्लो केही सातादेखि निकै अफ्ठ्यारोमा परेका बताउँछन् ।
उनी आफूले आयात गरिएको वस्तुको बारेमा जानकारी दिँदै त्यो एन्टिबायोटिक औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थ भएको बताउँछन् । बन्दरगाहमा सामान पछिल्लो १५ देखि २० दिनबाट थन्किएको थियो र अहिले बल्ल त्यसको निकासी हुन सकेको उनी बताउँछन् ।
‘यो आयातित वस्तुको एलसी (लेटर अफ क्रेडिट) त खुलिसकेको थियो,’ उनी भन्छन्, ‘तर, एलसी तिर्नका लागि बैंकहरुले डलर उपलब्ध गराएका थिएनन् । विदेशबाट यो सामानको विक्रेताले पटक पटक यसको पैसा मागिरहेको थियो । मैले कच्चा पदार्थको लागि उसले पाउनुपर्ने रकम बैंकमा जम्मा गरिसकेको थिए । बैंकले उसको पैसा डलरको रुपमा विदेश पठाउनु पर्ने थियो । तर, बैंकले अहिलेसम्म डलर पठाएको थिएन ।’
उनी रकम पठाउने विषयमा भइरहेको डलरको अभावका कारण आफ्नो वस्तुको निकासी नभएको सम्झन्छन् । उनी आफूले जुनसुकै रुपमा पनि सामानको निकासी गराउनका लागि दौडधुप गरेको समेत सम्झन्छन् ।
‘औषधिको तयारीमा प्रयोग हुने कच्चा पदार्थहरु छन्, जुन धेरै जसो नुन जस्तै स्वरुपमा हुन्छन्,’ उनी भन्छन्, ‘यसलाई सुरक्षित राख्नका लागि विशेष तापमान आवश्यक हुन्छ र यसलाई क्वारिन्टिनमा पनि राख्नु पर्ने हुन्छ, नत्र यो खराब हुन्छ । तर, १५ देखि २० दिनसम्म डलर विदेश पठाउन नसक्दा यो सामान निकासी नै हुन सकेको थिएन । बल्ल डलर उपलब्ध भएपछि अहिले सामान निकासी भएको छ । तर यो सबैका बीच केही सामान बिग्रिएको छ र मैले बिग्रिए बापतको शूल्क समेत दिनु परेको छ ।’
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/pakistan-768x432.jpg)
कैसर वहिद आफूले भोग्नु परेको कठिनाइको बारेमा सम्झदैं अहिलेको समयमा पाकिस्तानमा डलर हासिल गर्न निकै असहज भइसकेको बताउँछन् । अधिकांश बैंकहरुले अहिले पाकिस्तानमा डलर उपलब्ध गराउन सकिरहेका छैनन् ।
यस्तो घट्ना फार्मास्युटिकल क्षेत्रका कैसरसाग मात्रै नभएर अन्य क्षेत्रमा पनि भएको छ । अदुवा र लसुनका चारभन्दा धेरै कन्टेनर कैयौं दिनदेखि भन्सारमा निकासीको समय कुरेर बसेका थिए । यस्तो हुनुमा यी सामग्रीका लागि खुलाइएका एलसीमा बैंकहरुले डलरको रुपमा रकम विदेश भुक्तान गर्न सकेका थिएनन् ।
फलफूल तथा तरकारी व्यापारीहरुको प्रतिनिधि संगठनको तर्फबाट पाकिस्तानको वाणिज्य मन्त्रालयलाई पत्र लेखेपछि मात्रै यी सामग्रीहरुको निकासी हुन सकेको छ ।
खाद्य तथा तेलको क्षेत्रमा काम गर्ने शेख उमर रेहानकाअनुसार खाना पकाउने तेलको आयात र त्यसको एलसी भुक्तान गर्ने विषय सरकारको प्राथमिकतामा भए पनि यसको निकासीमा समेत ढिलाइ भइरहेको छ । पाकिस्तान सरकारले देशमा खाद्य पदार्थ र तेलको कमि नहोस् भनेर त्यसलाई प्राथमिकतामा राखेको छ ।
पाकिस्तानको एक स्थानीय रिफाइनरी कम्पनीले विदेशबाट कच्चा पेट्रोलियम पदार्थको आयात गर्नका लागि टेण्डर पठाउँदा बैंकले केवल आधा ट्याकंरको लागि एलसी खोलेको थियो । रिफाइनरीले ट्याकंरको भाडा पूरै दिनु परे पनि कच्चा तेल भने आधा ट्याकंर मात्रै आयात हुन सकेको थियो ।
पाकिस्तानमा आयातमा वस्तुहरुको एलसी खोल्ने वा तीनिहरुको भुक्तानीमा ढिलाई गर्ने विषयमा भइरहेका यी केही प्रतिनिधि घट्नाहरु मात्रै हुन् । यस्ता घट्नाहरु निरन्तर भइरहेका छन् र यसको सूची लामो छ ।
पाकिस्तानमा डलरको कमी भएका कारण आयातको क्रममा प्रयोग हुने कार्गोको निकासी हुन नसक्दा अत्यावश्यकदेखि दैनिक जनजीवनमा आवश्यक वस्तुहरुमा समेत असहज अवस्था सिर्जना भइरहेको छ ।
पाकिस्तानमा डलर, यसको मूल्य र यसको उपलब्धता यो समय सबैभन्दा ठूलो समस्या बनेको छ ।
पाकिस्तानका अर्थमन्त्री महोम्मद इसहाक डार, जो डलरको मूल्यलाई नियन्त्रणमा राख्नेमा जिम्मेवार थिए, यो अवस्थामा असफल देखिएका छन् ।
पाकिस्तानमा एकातिर डलरको मूल्य २२४ देखि २२५ पाकिस्तानी रुपैयाँ पुगेको छ भने अर्कातिर आयातका लागि आवश्यक पर्दा बैंकहरुले डलर नै उपलब्ध गराउन सकेका छैनन् । जबकी पाकिस्तानमा ग्रे मार्केटमा एक डलरको मूल्य २४० पाकिस्तानी रुपैयाँभन्दा धेरै पुगिसकेको छ ।
पाकिस्तानको वर्तमान सरकार सत्तामा आएपछि अर्थमन्त्री बनेका मिफताह इस्माइलको कार्यकालमा डलरको मूल्यमा निकै ठूलो उछाल देखिएको थियो । २९ जुलाई २०२२ मा आन्तरिक बैंकहरुमा डलरको मूल्य २४० पाकिस्तानी रुपैयाँसम्म पुगेको थियो । त्यसपछि इस्माइलको चर्को आलोचना भएको थियो । जसकारण देशमा अर्थमन्त्रीका रुपमा मोहम्मद इसहाक डार आउने खबर बाहिरिएको थियो ।
गत सेप्टेम्बरको अन्त्यमा केन्द्रीय अर्थमन्त्रीको भूमिकामा डार आएपछि आफ्नो प्राथमिकता स्थानीय मुद्रालाई सुदृढ गर्ने भएको बताएक थिए ।
अर्थमन्त्री बनेपछि इसहाक डारले गत अक्टोबरमा दाबी गर्दै प्रति एक डलरको मूल्य २ सय पाकिस्तानी रुपैयाँभन्दा कम बनाउने घोषणा गरेका थिए । तर, उनले यस्तो दाबी गरेको दुई महिना बितिसक्दा पनि डलरको मूल्य २ सय पाकिस्तानी रुपैयाँभन्दा कम भएको छैन । बरु, पाकिस्तानमा प्रति डलर मूल्य २२४ पाकिस्तानी रुपैयाँ पुगेको छ र आयातमा समेत समस्या देखिन थालेको छ ।
अहिले पाकिस्तानमा देखिएको सबैभन्दा ठूलो समस्या डलरको अनुपलब्धता हो । यो कारणले गर्दा देशमा आयात गरिएका कच्चा पदार्थ, खाने तेल, औषधि, निर्यात क्षेत्रका कच्चा सामग्री, उपकरण तथा अन्य क्षेत्रका सामग्रीहरु आयान गरिएका कार्गोहरु पनि बैंकले एलसी भुक्तान गर्न ढिलाई गर्दा बन्दरगाहमै फसिरहेका छन् ।
इसहाक डारले आफ्नो पछिल्लो कार्यकालमा डलरको मूल्यलाई निश्चित मूल्यमा राखेका थिए । उनको यो कदमलाई उनका राजनीतिक बिरोधी र निष्पक्ष आर्थिक विश्लेषकहरुले कृत्रिम रुपमा डलरको रेटलाई नियन्त्रण गर्न बनाइएको उपायका रुपमा विश्लेषण गरेका थिए ।
विश्लेषकहरुले डारको यो कदमलाई डलरको मूल्यलाई ‘म्यानिपुलेट’ गरेको भन्न नमिलेर ‘म्यानेज’ गरेको भन्नु पर्ने पनि बताउँदै आएका छन् । विश्लेषकहरु डारको अघिल्लो कार्यकालको समयमा पाकिस्तानप्रति अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) पनि नरम भएका कारण डलरको रेट नबढेको बताउँछन् ।
केन्द्रीय बैंकको तथ्यांककाअनुसार पाकिस्तानसँग अहिले ६.७ अर्ब अमेरिकी डलरको विदेशी मुद्रा कोष छ भने देशमा कुल मिलाउँदा १२.६ अर्ब डलरको कोष रहेको छ ।
पाकिस्तानले यो आर्थिक वर्षमा ३० अर्ब डलरभन्दा धेरै विदेश भुक्तानसमेत गर्नुपर्ने छ । यसबीच पाकिस्तानमा डलर आउनसक्ने प्रमुख स्रोतहरु निर्यात, विदेशबाट पठाइएका रेमिट्यान्स र विदेशी लगानी पछिल्लो केही महिनामा नकरात्मक वृद्धितर्फ गइरहेका छन् ।
बीबीसीबाट
SHARE YOUR THOUGHTS