![](https://internal.appharu.com/wp-content/uploads/2022/12/birat-expo-768x354.jpg)
विराटनगर । सातौं संस्करणको विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) शुरू भएको छ । बिहीबार विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक्सपोको उद्घाटन गरेकी हुन् ।
सात दिनसम्म सञ्चालन हुने एक्स्पो विराटनगर महानगरपालिका–१४ स्थित स्नातकोत्तर क्याम्पसको खेलमैदान (पुरानो बिमानस्थल) विराटनगरमा सञ्चालन हुने छ ।
उद्योग संगठन मोरङद्वारा संचालित एक्स्पोमा ३ सय ६१ वटा स्टल राखिएका छन् । पेभिलियनका ४ वटा स्टलहरू छन् ।
एक्सपो उद्घाटन क्रममा राष्ट्रिपति भण्डारीले निजी क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यान आकृष्ट गराउँदै कोभिड महामारीले शिथिल हुन पुगेको अर्थतन्त्रलाई यसखाले प्रदर्शनीले माथि उठाउन महत्वपूर्ण टेवा पुग्ने बताइन् ।
प्रदेश १ का प्रमुख पर्शुराम खापुङले निजी क्षेत्रसँग तीनवटै सरकारले सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिंदै प्रदर्शनीले स्वदेशमा मात्र नभई छिमेकी मुलुकमा वस्तु र सेवा दुवैको बिस्तार हुनेमा आफू विश्वसत रहेको बताए ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रबाट हुने यसखाले प्रदर्शनीले प्रदेशको उद्योग र पर्यटनको विकासमा महत्वपूण भूमिका खेल्ने र त्यसका लागि सरकार हातेमालो गरेर जान तयार रहेको बताए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अहिलेको असहज परिस्थितिमा पनि निजी क्षेत्रले एक्सपोको आयोजना गरेर साहस प्रदर्शन गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर यहाँ प्रदर्शनी स्थलको निमार्ण गर्न आफू इच्छुक रहेको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले निजी क्षेत्र चुनौतिको चाङ्मा उभिएको कठिन परिस्थितिमा एक्सपो आयोजना गरिनु एउटा अवसर भएको भन्दै यसअघि कोभिड, नाकाबन्दी, भूकम्प, लोडसेडिङको अवस्थाभन्दा पनि अहिले देशको अर्थतन्त्र निकै नाजुक अवस्थामा पुगेको बताए ।
उनले अहिलेको समस्या तरलता अभाव, बैंक व्याजदरमात्र चुनौति नभएर राजश्व घटेको, रोजगारी सिर्जना भएको, आयकर ५० प्रतिशतले कम हुने संकेत देखा परेको धारणा राखे ।
भुक्तानी सन्तुलनले मात्र अर्थतन्त्र चलायमान नुहने भन्दै उनले भने ‘अर्थतन्त्रमा ठूलो चुनौति देखा परेको छ, यसलाई सरकारले समयमै सम्बोधन गर्न नसको देशको अर्थतन्त्र चाडै नै संकटमा पर्ने निश्चित छ ।’
अहिले निर्माण क्षेत्रमा ७०, अटो व्यवसायमा ८०, विद्युतीय उपकार व्यवसायमा ५५, विद्युतीय कारोबारमा ५०, बीमा व्यवसायमा ३०, घरजग्गा कारोबारमा ४५, शेयर बजारमा ३०, डिजेल खपतमा २५, ढुवानी व्यसायमा ६०, होटल व्यवसायमा ३०/४०, उद्योगको इन्धन खपत १५/३० र दैनिक व्यवसायमा १० प्रतिशत संकुचन आएकोले देश संकटतर्फ उन्मुख भएको उनले तथ्यांक प्रस्तुत गरे ।
‘चालू आर्थिक वर्षको पाँच महिनामा पनि उद्योगी व्यवसायीले बैंकको व्याज र किस्ता तिर्न नसक्ने अवस्था छ, पुस महिनामा अधिकांशले व्याज र किस्ता तिर्न नसकेर पलायन हुनुपर्ने जटिल स्थिति निम्तिँदैछ,’ उनले भने ।
यस्तो जटिल अवस्थामा सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर यो स्थितिको अन्त्य गर्न चाडै सोच्नुपर्ने उनले सुझाव दिए ।
एक्सपोमा प्रायोजकका १०, उद्योग संगठन मोरङ कार्यसमितिको ३४, औद्योगिक कन्जुमन प्रोडक्टका ७५, कृषि तथा साना घरेलु एवं सूचनामूलक परिसरका ७५, नाडा र अटोमोबाईल परिसरको २० वटा र खाद्य परिसरको १० वटा स्टलहरू छन् ।
एक्स्पो अवधिभर माउन्टेन फ्लाइटको व्यवस्था पनि गरिएको छ । माउन्टेन फ्लाइटबाट हिमाल दर्शन गरेको ११ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ । फ्लाइटबाट ताप्लेजुङको पाथिभरा दर्शन पनि गराइने भएको छ । एक्स्पो अवधिभर तीनवटा फ्लाइट गर्ने तयारी गरिएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।
‘माउन्टेन फ्लाइटको बुकिङ पनि भइसकेको छ,’ उनले भने, ‘विराटनगरबाट दीर्घकालीन रूपमा माउन्टेन फ्लाइटको व्यवस्था गर्नको लागि पनि हामीले एक्स्पोमा माउन्टेन फ्लाइट राखिएको हो ।’
एक्स्पोको मुख्य आकर्षण आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदानप्रदान, नवीतम सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियन छन् । त्यस्तै प्रदेश आर्थिक वृद्धि तथा लगानी सवलीकरणका लागि एशियन फउण्डेशन र प्रदेश नागरिक विकास बोर्डसँग सहकार्यमा लगानी सम्मेलन, प्रदेश १ मा लगानीका सम्भावना भएकाहरूको प्रदर्शनीको छुट्टै पेभिलियन रहने एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।
त्यसैगरी, पहिलोपटक एक्स्पोमा रोबटसँग प्रत्यक्ष संवाद गर्ने मौका मिल्ने छ । थ्रीडी भर्चुयल टुरमार्फत प्रदेश १ को प्रख्यात पर्यटकीय क्षेत्र सगरमाथाको बेस क्याप, गुफा पोखरी, पाथीभरा मन्दिरलगायत हेर्न सकिन्छ । यी ठाउँहरू हेर्दा हेर्ने व्यक्ति आफू पुगेको भान हुने बताइएको छ ।
संयोजक दुलालका अनुसार यसबाहेक पर्यटकीय गन्तब्यको जानकारी, स्थानीय खाना उत्सव, दैनिक सांगीतिक कार्यक्रम छन् भने यस्ता कार्यक्रमहरुमा स्थानीय कला संस्कृति एवं कलाकारहरुलाई प्राथमिकतामा राख्दै प्रदेशका विभिन्न जातजातिहरूको कला र संस्कृति प्रस्तुत हुनेछन् ।
साथै राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको समेत सहभागिता हुन्छ । एक्स्पोमा फेशन शो र विराट एक्स्पो सींगीङ आइडल प्रतियोगिता पनि हुनेछ । यो प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी हुने छिन् ।
एक्स्पोमा रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरुबीच प्रत्यक्ष भेटघाटका लागि छुट्टै पेभिलियन रहेको छ । एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बंगलादेश, पाकिस्तानलगायतका मुलुकको उत्पादनको प्रदर्शनी रहेको छ ।
एक्स्पोमा भारत बिहारको सीमावर्ती क्षेत्रबाट समेत गरी करीब २ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । एक्स्पोमा साढे ३ करोड रुपैयाँ खर्च हुने एक्सपो संयोजक दुलालले बताए । त्यस्तै एक्सपो अवधिभर ३० करोड रूपैयाँ बराबरको कारोबार हुने आयोजकले अपेक्षा गरेको छ । एक्स्पो सकिएको महिना दिनभित्रमा हिसाव सार्वजनिक गर्ने उनले दाबी गरे ।
आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले ‘विराट एक्स्पो आयोजना गरेको हो । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ एक्स्पो सञ्चालन भएको हो ।
स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै उद्योग व्यवसाय क्षेत्रको व्यावसायिक विकासमा योगदान पुर्याउन संगठनले २०५३ सालमा कोशी महोत्सवबाट सुरु गरेको हो । २०५६ सालमा पूर्वाञ्चल व्यापार मेला, २०६२ सालमा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी भएको थियो । प्रदर्शनीको ऐतिहासिकताको निरन्तरता स्वरुप संगठनले समयानुकूल परिमार्जन तथा परिस्कृत गर्दै २०६६ सालदेखि २ वर्षको अन्तरालमा ‘विराट एक्स्पो’ गर्दै आएको छ । कोभिडका कारण २०७६÷०७७ मा एक्सपो सञ्चालन हुन सकेको थिएन ।
एक्पो पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
SHARE YOUR THOUGHTS