रासायनिक मलको अभाव « Eglish Khabarhub

रासायनिक मलको अभाव



दाङ। जिल्लामा रासायनिक मलको अभाव भएको छ ।

धानखेती सुरु हुन लाग्दा जिल्लामा मलको अभाव देखिएको हो । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङमा हाल एक बोरा समेत मल मौज्दात छैन ।

धानखेतीका लागि जिल्लामा तीन हजार टन डिएपी मल आवश्यक पर्छ । गोदाममा युरिया प्रशस्त भए पनि डिएपी मल मौज्दात नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले बताए ।

उनका अनुसार हाल कम्पनीमा पाँच सय टन युरिया मात्र रहेको छ । यस अघि एक हजार ६०० टन डिएपी मल बिक्री गरिसकेको र हाल किसानलाई रित्तो हात फर्काउनु परेको न्यौपानेले बताए ।

‘दैनिक किसान डिएपी मलका लागि आउनुहुन्छ, हामीसँग एक बोरा पनि छैन,’ उनले भने। जिल्लाका घोराही, लमही, तुलसीपुरका किसान अनुदानको मल नपाएर महँगो मूल्यमा निजी पसलबाट मल किन्न बाध्य भएका किसान यमकला वलीले बताइन ।

‘भोलि रोपाइँ हो, डिएपी मल लिन आएकी थिए, कृषि सामग्री केन्द्रमा मल नपाँउँदा बजारबाट किने,’ उनले भनिन् ।

कृषि सामग्री कम्पनीले केही दिनभित्र मल आयात गरिने जनाएको छ ।

Publish on: