माघे संक्रान्ति नजिकिएसँगै तरुल र चाकुको व्यापार फस्टायो « Eglish Khabarhub

माघे संक्रान्ति नजिकिएसँगै तरुल र चाकुको व्यापार फस्टायो



काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । कालिमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड यतिबेला देख्न सकिन्छ ।

तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुलहरु आइरहेको व्यापारीहरुको भनाइ छ ।

कालिमाटीमा तरकारी व्यापार गर्दै आएका कृष्णप्रसाद पोखरेलले तरुल माघे संक्रान्तिमा मात्रै पाउने सिजन भएकाले पनि संक्रान्तिको अघिल्लो दिनको व्यापार हेरेर मात्रै नाफा घाटाको बारेमा भन्न सकिने बताए ।

मानिसहरु कत्तिको किन्न आउँछन् भन्ने कुराले नै मूल्य बढ्ने वा घट्ने भन्नेबारेमा थाहा हुने उनको भनाइ छ ।

अहिले कालिमाटी बजारमा सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट लगायतका जिल्लाहरुबाट तरुलहरु धेरै आइरहेको उनले जानकारी दिए ।

‘माघेसंक्रान्तीको बेलामा मात्रै हुने भएकाले यो नाफा घाटाको कुरा कत्तिको किन्न आउनुहुन्छ भन्ने हेरेर थाहा हुन्छ । सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटबाट तरुल आउँछ’ उनले भने ।

त्यस्तै कालिमाटी तरकारी तथा फलफूल बजारमा नै काँक्रोको व्यापार गर्दै आएकी अप्सरा सिलवाल भने अरुबेला काँक्रो मात्रै व्यापार गर्ने भए पनि यस पटक भने सिजनको तरकारी तरुल मगाएर व्यापार गरिरहेको बताउँछिन् ।

माघे संक्रान्तिका लागि आफूले नवलपरासीबाट २ गाडी तरुल ल्याएको बताइन् । गत वर्ष र यस वर्ष तरुलको भाउमा फरक नरहेको उनको भनाइ छ ।

यस वर्ष विगतको वर्षभन्दा धेरै तरुल भित्रिएकाले भाउ केही सस्तो हुने सम्भावना रहेको उनको भनाइ छ । पछिल्लो केही दिन यता तरुलहरु बजारमा बाहिरबाट धेरै आइरहेकाले भाउ सस्तो पर्नसक्ने उनले बताइन् ।

यदी बाहिरबाट तरुल ल्याउन नदिएको खण्डमा भने महंगो पर्नसक्ने उनको भनाइ छ ।

‘२ गाडी तरुल ल्याएर राखेकी छु । नवलपरासीबाट ल्याएको छु । व्यापार पोहोरको जस्तै छ । बढी, घटी छैन । सामान यसपालि बढी आयो भने भाउ सस्तो हुन्छ जस्तो लागेको छ’ उनले भनिन् ।

संक्रान्ति नजिकिएसँगै तरुल मात्रै होइन, बजारमा चाकुको माग बढेको छ । जाडोमा गर्मी बढाउने अर्थात् शरीरलाई तातो बनाउनका लागि पनि यतिबेला बजारमा चाकुको व्यापार बढ्ने गर्छ । चाकु पनि गत वर्षको मूल्यमा नै बिक्री भइरहेको व्यापारीहरु बताउँछन् । नेपाली समाजमा तरुल, चाकु, तिलौरा लगायत खाएर हर्षोल्लाससहित माघे संक्रान्ती पर्व मनाउने गरिन्छ ।

Publish on: