![](https://internal.appharu.com/wp-content/uploads/2022/06/fixed-deposit-1627642644.jpg)
काठमाडौं । पछिल्लो समय मानिसले आफूसँग भएको पैसा मुद्दती निक्षेपमा राख्नेक्रम बढेको छ । नेपाल राष्ट्र बैंककाअनुसार बैंकको बचतमाभन्दा मुद्दती निक्षेपमा पैसा राख्नेहरुको संख्या धेरै छ ।
तथ्याङकलाई हेर्दा चल्ती, बचत तथा अन्य खालको बचतको तुलनामा मुद्दती निक्षेपमा पैसा राख्नेक्रम बढेको छ ।
गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा बचतमा राख्ने पैसाको अंश १६ प्रतिशत बिन्दुले घटेको छ । गत आवको ६ महिनाको तुलनामा ३०.३ प्रतिशत रहेकामा अहिले १६ प्रतिशत बिन्दुले घटेर २५.६ प्रतिशत रहेको छ ।
यस्तै गत आवको ६ महिनाको अवधिमा चल्ती खातामा राख्ने पैसाको अंश ८ प्रतिशत बिन्दुले घटेको छ । गत आवको ६ महिनामा ८.५ प्रतिशत रहेकामा अहिले ८ प्रतिशत बिन्दुले घटेर ७.८ प्रतिशत रहेको छ ।
यस्तै अन्य खालको बचत पनि ९ प्रतिशत बिन्दुले घटेर ६.२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ६.८ प्रतिशत रहेको थियो ।
चालु आवको ६ महिनाको अवधिमा सबैखाले बचतको अंश घट्दै जाँदा मुद्दतीमा जम्मा हुने रकम भने बढ्दै गएको छ । एक वर्षको अवधिमा मुद्दती निक्षेपमा थपिएको अंश ११ प्रतिशत बिन्दुले बढेको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको मुद्दती निक्षेप ५४.४ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा मुद्दती निक्षेप ११ प्रतिशत बिन्दुले बढेर ६०.४ प्रतिशत पुगेको छ ।
राष्ट्र बैंककाअनुसार चालु आवको ६ महिनामा बैंक तथा वित्तीय संस्थामा बचत घट्दै जाँदा निक्षेप बढ्दै गएको छ । असार मसान्तमा २७.६ प्रतिशत रहेको बचत पुसमा ७.२४ प्रतिशतले घटेर २५.६ प्रतिशत रहेको छ ।
यस्तै असार मसान्तमा ५५.८ प्रतिशत रहेको निक्षेप ८.२४ प्रतिशत बिन्दुले बढेर ६०.४ प्रतिशत पुगेको छ ।
पछिल्लो समय बैंकहरुले बढाएको ब्याजदरको प्रत्यक्ष प्रभाव मुद्दती निक्षेपमा देखिएको छ । बचतमाभन्दा बढी ब्याज मुद्दती निक्षेपमा पाइन्छ । बचत र मुद्दती निक्षेपको ब्याज अन्तर ५ प्रतिशत रहेको छ ।
बैंकिङ प्रणालीमा निक्षेप अभाव भएपछि बैंकहरुले धमाधम ब्याज बढाए । ब्याज बढाएपछि निक्षेपमा बढी ब्याज पाइने भएपछि निक्षेपकर्ताको आकर्षण त्यता देखिएको छ ।
छोटो समयका लागि मुद्दती निक्षेपमा पैसा राख्न चाहनेको पनि संख्या पनि बढ्दै गएको बैंकर्सहरुको भनाइ छ । बैंकले ३ महिना, ६ महिना, १ वर्ष वा सोभन्दा बढी अवधिकाका लागि पैसा निक्षेपमा राख्दा ब्याजदर उस्तै–उस्तै पाउने भएपछि लामो धेरै समयका लागि भन्दा पनि छोटो समयका लागि निक्षेपमा राख्ने क्रम रहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल बताउँछन् ।
‘ब्याजदर बढेपछि बैंकमा मुद्दती निक्षेप बढेको छ’ उनले भने, ‘अहिले बैंकहरुले तीन महिना, ६ महिना, १ वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेप दिने ब्याजदर उस्तै उस्तै छ, त्यही भएर पनि होला लामो समयमा लागि भन्दा पनि १ वर्ष वा सोभन्दा कम अवधिका लागि मुद्दती निक्षेप थपिएको छ ।’
तीन महिनादेखि बढी अवधिका लागि मुद्दतीमा पैसा राखेर ब्याज पाउन सकिन्छ । बैंकहरुले मुद्दती निक्षेपमा पैसा राख्दा पुस मसान्तसम्म १२.१३३ प्रतिशतसम्म ब्याज दिन गरेका थिए । माघमा भने बैंकहरुको ब्याजदर घटेको छ । पुसको तुलनामा माघमा बैंकहरुको ब्याजदर १० प्रतिशतले घटेको छ ।
पुस मसान्तसम्म वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीमा १२.१३३ प्रतिशत ब्याज पाइनेमा माघ १ गतेबाट ११ प्रतिशतमा झरेको छ । यस्तै संस्थागत तर्फको १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत रहेको छ ।
केही समय अघि वाणिज्य बैंकहरुले डबल डिपोजिट योजनाले ल्याएका थिए । त्यो योजनाले स–साना निक्षेप तानेको बैंकर्सहरु बताउँछन् । सानो सानो रकम हुनेहरुलाई त्यसले तानेका कारण पनि निक्षेप बढेको देखिएको छ ।
अहिले बैंकहरुले मोबाइल एपबाटै आफुसँग भएको पैसा मुद्दती निक्षेप राख्न सक्ने व्यवस्था गरेका छन् । त्यसको प्रभाव पनि निक्षेपमो देखिएको छ ।
SHARE YOUR THOUGHTS