काठमाडौं । नेपालका लागि सावमी ब्राण्ड मोबाइलको आधिकारिक विक्रेता वत्सल इम्पेक्स प्रालिको व्यापार ७.४० प्रतिशतले घटेको छ । कोरोनाले गर्दा चम्किएको व्यापारमा गत वर्ष ब्रेक लागेको छ ।
कम्पनीले सन् २०२१ मा हालसम्मकै उच्च व्यापार गरेको थियो । कम्पनीले सन् २०२१ मा ५ अर्ब ४४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२२ मा ७.४० प्रतिशतले व्यापार घटेर ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ ।
कम्पनीले सन् २०२० मा २ अर्ब १३ करोड रुपैयाँ, सन् २०१९ मा १ अर्ब १६ करोड ५० लाख रुपैयाँ र सन् २०१८ मा १ अर्ब ७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले सावमी ब्राण्डको मोबाइलसहित इच्भिच वस्तु, टीकवाच, र फीटबीट ब्राण्डको वस्तुको पनि आधिकारिक विक्रेता हो । देशभर १४ वटा डिलर र सयभनदा बढी खुद्रा पसल रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ८० करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले एथ्री प्लस रेटिङ पाएको छ ।
शारडा ग्रुपद्वारा सञ्चालित वत्सल कम्पनी नेपालको दोस्रो ठूलो मोबाइल आयातकर्ता हो । नेपाली बजारमा कम्पनीको हिस्सा १८ प्रतिशत छ । कम्पनीले नेपाली बजारमा इच्भिच ब्राण्डको सीसी क्यामेरा र अन्य एसोसरिज, पोको फोन, फिटबिट र टिकवाच स्मार्ट वाच आयात गरी बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीअनुसार सन् २०२२ मा कोरोनाको तुलनामा कम माग हुँदा आम्दानी घटेको जनाएको छ । कोरोनाको समयमा मोबाइलफोनको उच्च माग थियो । जसले गर्दा कम्पनीको व्यापारमा उछाल आएको थियो । तर, कोरोनापछि विस्तारै मोबाइलफोनको माग कम हुँदा व्यापार पनि कम भएको कम्पनीले उल्लेख गरेको छ ।
त्यसैगरी, चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा ४४ प्रतिशतले व्यापार घटेको कम्पनीको भनाइ छ ।
सन् २०१२ देखि भिडियोकन र पर्पल ब्राण्डको मोबाइल फोन आयात गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०१६ देखि सावमीसँग सम्झौता गरी नेपालमा मोबाइल आयात गर्दै आएको छ ।
कम्पनीको अध्यक्ष विनितकुमार शारडा हुन् भने नितेशकुमार मुङ्गडा प्रबन्ध निर्देशक हुन् । शारडा ग्रुप विगत लामो सयमदेखि उत्पादन, ट्रेडिङ, बैंकिङ र हाउजिङ क्षेत्रमा संलग्न छ ।
SHARE YOUR THOUGHTS