मुलुक

७ महिनामा १ अर्ब ६५ करोडको कुकुर-बिरालाको खानेकुरा निर्यात



चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा १ अर्ब ६५ करोड रुपैयाँको कुकुर तथा बिरालाको खानेकुरा नेपालबाट निर्यात भएको छ । यो निर्यात गत वर्षको सोही अवधिको तुलनामा १६.३ प्रतिशत धेरै हो ।

समीक्षा अवधिमा गत वर्ष नेपालबाट १ अर्ब ४२ करोडको कुकुर-बिरालाको खानेकुरा निर्यात भएको थियो ।

कुकुर-बिरालाको खानेकुरा सबैभन्दा धेरै अमेरिका निर्यात हुने गरेको छ । गत वर्षको ७ महिनामा १ अर्ब १९ करोडको खानेकुरा त अमेरिका मात्रै निर्यात भएको थियो ।

यो वर्ष अमेरिकामा मात्रै १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको निर्यात भएको छ । यो कुल निर्यातको करिब ८६ प्रतिशत हो ।

अमेरिकापछि क्यानडामा नेपालबाट कुकुर-बिरालाको खानेकुरा बढी निर्यात भएको छ । क्यानडामा ७ महिनामा १७ करोड ११ लाख रुपैयाँभन्दा बढीको कुकुरको खानेकुरा निर्यात भएको हो ।

गत वर्षभरमा २ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी मूल्यकको कुकुर-बिरालाको खानेकुरा निर्यात भएको थियो ।

नेपालबाट अमेरिकासहित बेलायत, सिंगापुर, नेदरल्यान्ड, कोरिया, जापान, क्यानडालगायतका २४ देशमा कुकुर-बिरालाको खानेकुरा निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा चीन, भारत, इटाली, थाइल्यान्ड, टर्की र अमेरिकाबाट ६ करोड ४९ लाख रुपैयाँको कुकुर-बिरालाको खानेकुरा आयात भएको छ । विगत वर्षहरुमा भन्दा यस्तो खानेकुरा आयात हिस्सा घट्दै गएको छ ।

नेपालबाट कुकुर-बिरालाको खानेकुराका रुपमा बढी छुर्पी बाहिरिने गरेको बताइन्छ ।