
काठमाडौं । निर्माण सुरु भएको २ वर्षमा सञ्चालनमा ल्याउने योजनाअनुसार काम अगाडि बढाएको बूढानीलकण्ठको हेरिटेज होटलको लागत ५० प्रतिशतले बढेको छ ।
बूढानीलकण्ठ हेरिटेज लिमिटेडले सन् २०१९ मा निर्माण सुरु गरेको होटल २०२१ मा सञ्चालनमा ल्याउने योजना बनाएको थियो।
तर, कोरोना महामारीको समयमा निर्माण कार्य ठप्प हुँदा योजनाअनुसार काम हुन सकेन । कोरोना महामारीको पहिलो चरण र दोस्रो चरणमा लागू भएको लकडाउनका कारण होटल निर्माण कार्य ठप्प हुँदा समयावधि लम्बिएको हो ।
बूढानीलकण्ठमा १२ रोपनीमा निर्माण भइरहेको होटलको समयावधि लम्बिएसँगै लागत पनि ५० प्रतिशतले बढेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निर्माण भइरहेको पाँच तारे होटलको लागत प्रतिकोठा डेढ करोड रुपैयाँबाट बढेर २ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
हालसम्ममा होटलको निर्माण कार्य ५१ प्रतिशत सकिएको छ । कम्पनीले सन् २०२३ को अप्रिलसम्ममा निर्माण सम्पन्न गर्ने बताएको छ । होटलको निर्माण लागत बढेपछि कम्पनीले ऋण लिने भएको छ
कम्पनीले अहिलेको अनुमानअनुसार २ अर्ब ३७ करोड ५० लाख रुपैयाँमा निर्माण कार्य सम्पन्न हुने अनुमान गरेको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५४ करोड ५० लाख रुपैयाँ ऋण लिने भएको छ । त्यसबाहेक अन्य ८३ करोड रुपैयाँ कम्पनीले लगानी गर्नेछ ।
होटलका लागि ९ तलाको भवन बन्नेछ, जसमा १०२ वटा कोठा हुनेछ ।
SHARE YOUR THOUGHTS