निष्क्रिय डिम्याट खाता किन बन्द गर्न चाहन्छ सीडीएससी ? « Eglish Khabarhub

निष्क्रिय डिम्याट खाता किन बन्द गर्न चाहन्छ सीडीएससी ?



काठमाडौं । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले निष्क्रिय लगानीकर्ताका डिम्याट अकाउन्ट बन्द गर्ने सेवाग्राहीले आग्रह गरेको बताएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूणर् आचार्यले निष्क्रिय डिम्याट खाता बन्द गर्न सीडीएससीलाई कुनै रहर नभएको बताएका छन् ।

‘खाता खोलेर एक-दुई पटक भरेर विदेश गएकाहरु फर्किएर आएपछि कारोबार गर्न या आईपीओ भर्न खोज्छन्,’ उनले भने, ‘तर खाता नवीकरण गर्न जाँदा वार्षिक सय रुपैयाँ लाग्छ । खाता ५-७ वर्ष निष्क्रिय छ भने नवीकरण शुल्क त्यही अनुसार तिर्नुपर्छ तर नयाँ खोल्दा डेढ सय रुपैयाँमै हुन्छ ।’

हितग्राही खाता पुरानोलाई सक्रिय गराउँदा भन्दा नयाँ खोल्दा निकै सस्तो पर्ने भएपछि सेवाग्राहीले नै बन्द गराउन सहयोग माग्ने गरेको उनको भनाइ छ । सीईओ आचार्यका अनुसार अहिले १७ लाखभन्दा बढी खातामा सेयर छैन । ‘त्यस्ता खातालाई समावधिका आधारमा १, २, ३ र ४ या त्योभन्दा बढी वर्षसम्म निष्क्रिय रहेको आधारमा वर्गीकरण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘त्यसपछि मात्र यस्ता विषयका प्रक्रिया अगाडि बढ्छन् ।’

सेवाग्राहीका तर्फबाट सीडीएससीले धेरै काम गरिरहेको र अझै धेरै काम पाइपलाइनमा रहेको उनले बताए । सीडीएसीको कार्यविधिले नै २ वटा सम्म डिम्याट अकाउन्ट खोल्नसक्ने सुविधा दिएकाले करिब ३ लाख त्यस्ता खाता रहेको उनले जानकारी दिए ।

‘एउटा खाता खोल्दा हामीलाई प्राप्त हुने जम्मा १० रुपैयाँ हो,’ सीईओ आचार्यले भने, ‘त्यही सानो रकमबाट ठूलो सुविधा उपलब्ध गराइरहेका छौं ।’ सेवाका नाममा नेपाल धितोपत्र बोर्डले तोकेभन्दा अतिरिक्त शुल्क लिन नमिल्ने उनले बताए ।

Publish on: