बैंक ब्याजदर घट्दा पनि सेयर काराेबारमा देखिएन आकर्षण, बजारमा राताम्मे कायमै « Eglish Khabarhub

बैंक ब्याजदर घट्दा पनि सेयर काराेबारमा देखिएन आकर्षण, बजारमा राताम्मे कायमै



काठमाडौं । सेयर बजारमा निरन्तर आएको गिरावट बुधबार पनि कायमै रहेको छ ।

आजदेखि वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको ब्याजदर पनि लागू भएको छ । नयाँ ब्याजदर लागू भएपनि सेयर बजारमा त्यसको प्रभाव भने देखिएको छैन । आजदेखि निक्षेपमा ०.४ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको छ । जुन आजैदेखि लागू पनि भएको छ ।

कारोबारको सुरुदेखि नै आएको गिरावट अन्तिम समसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक १४.४४ अंकले घटेर परिसूचक १९३८.६२ बिन्दु्मा ओर्लिएको छ ।

२५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ९.९४, विकास बैंक २७.२४, वित्त कम्पनी, १४.१६, होटल ७.३९, जलविद्युत ९.६९, जीवन बीमा ६९.४६, उत्पादन तथा प्रशोधन ३२.४२, माइक्रो फाइनान्स ६८.३५, निर्जीबन बीमा समूहको उपसूचक १७.०६ अंकले घटेको छ ।

बजार राताम्मे बन्दा पनि युनिक नेपाल लघुवित्त वित्तीय संस्था, शुभव पावर कम्पनीको सेयर मूल्यमा सर्किट लेभलमा कारोबार भएको छ । यस्तै बिन्धाबासिनी हाईड्रोपावर, रु रु जलविद्युत परियोजना, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरधनीले कमाएका छन् ।

यस्तै कारोबारमा किसान लघुवित्त वित्तीय संस्था, बाराही हाईड्रोपावर, स्वरोजगार लघु विकास बैंक, फस्र्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको १० करोड ३५ लाख २२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सानिमा माइ हाईड्रोपावर र नबिल बैंक रहेको छ ।

Publish on: