सिद्धार्थ बैंकद्वारा विद्यालयलाई २० थान कम्प्युटर र हल निर्माणमा ४० लाख रुपैयाँ सहयोग « Eglish Khabarhub

सिद्धार्थ बैंकद्वारा विद्यालयलाई २० थान कम्प्युटर र हल निर्माणमा ४० लाख रुपैयाँ सहयोग



काठमाडौं । सिद्धार्थ बैंकले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको समुद्घाटन गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमबीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भवनको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिष्ठित उद्योगी, व्यापारी समूहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

बैंकले विगत १६ वर्षदेखि पोखरा मनपा, वडा नं ८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आइरहेको पोखरा शाखालाई पनि उक्त भवनमा स्थानान्तरण गरेको छ ।

अत्याधुनिक प्रविधिमैत्री बैंकिङमार्फत आम ग्राहकहरु समक्ष उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तिमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।

यसका साथै बैंकले उक्त अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर एवं सोको लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री तथा दृष्टिविहिन बिद्यार्थीहरुको लागि बहुउद्देशीय हल निर्माण गर्न ४० लाख रुपैयाँ सम्मको सहयोग गर्ने सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र अमरसिंह माध्यमिक विद्यालयको तर्फबाट उक्त विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरेका छन् ।

Publish on: