काठमाडौं । अर्थविद् डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् । इतरपक्षका नेताहरुलाई सन्देश पठाउँदै वाग्लेले आफू कांग्रेसमा रहन नसकेको उल्लेख गरेका छन् ।
‘पार्टीमा रहन्न भनेर सन्देश पठाउनुभएको छ,’ नेता शेखर कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘पार्टी परित्यागको घोषणा गरेर कांग्रेसका कुनै पनि नेताको सम्पर्कमा आउनु भएको छैन ।’ थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेतासँग छलफल गरिरहेको सूचना प्राप्त गरेको जानकारी दिए ।
‘हजुरहरूको अपार सद्भावका बाबजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो’ वाग्लेले इतरपक्षका नेताहरुलाई पठाएको पत्रमा उल्लेख गरेका छन् ।
गत वर्षको कांग्रेस महाधिवेशनमा वाग्लेले क्याम्प परिवर्तन गरी शेखर-गगन पक्षमा खुलेपछि देउवा क्रुद्ध भएका थिए ।
वाग्लेले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजुको निरन्तरको अपमानले पार्टीमा बस्न नसकेको उल्लेख गरेका छन् । स्मरण रहोस् देउवाले उनलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त गरेका थिए । त्यसपछि उनी आमरुपमा अर्थशास्त्रीका रुपमा परिचित भएका थिए ।
देउवाले नै वाग्लेलाई कांग्रेस महासमिति सदस्य बनाएका थिए । योजना आयोगको उपाध्यक्ष छाडेर वाग्ले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकारको रुपमा जागिर खान गएका थिए । त्यहाँ जागिर सकेर नेपाल फर्किएका उनले गत प्रतिनिधि सभा निर्वाचनमा चितवन वा गोरखाबाट सांसदको टिकट मागेका थिए । तर, क्याम्प परिवर्तन गरेको र असहज अवस्थामा देश छाडेर विदेशी संस्थामा जागिर खान गएको भन्दै रिसाएका देउवाले वाग्लेलाई टिकटनै दिएनन् । उल्टै वाग्लेले योजना आयोगमा प्रवेश गराएर ‘ग्रुम’गरेका विश्व पौडेललाई देउवाले चितवनबाट टिकट दिएपछि उनी देउवासँग थप चिढिए ।
शेखर गगन क्याम्पमा लागेर राजनीतिक सक्रियता बढाएका वाग्ले अहिले अर्थमन्त्रीमा समेत दाबेदार थिए । देउवाले प्रकाशशरण महतलाई अर्थमन्त्री बनाउने निश्चित भएपछि वाग्ले पार्टी छोड्ने निर्णयमा पुगेका हुन् ।
देउवा रहुन्जेल कांग्रेसमा हामीले अवसर नपाउने रहेछौं अब यो पार्टीमा बस्नुको कुनै औचित्य छैन केही दिन यतादेखि आफू निकटसँग वाग्लेले भन्दै आएका थिए ।
पछिल्लो समय कांग्रेसबाट विरक्तिएको देखेका लामिछानेले वाग्लेलाई आफ्नो पार्टीमा आएर उपचुनाव लड्न प्रस्ताव गरेका हुन्।
कांग्रेसले टिकट नदिएपछि गत निर्वाचनमै उनलाई एमाले, माओवादी र रास्वपाले काठमाडौंबाट चुनाव उठ्न गरेको प्रस्तावलाई भने उनले अस्वीकार गरेका थिए ।
SHARE YOUR THOUGHTS