काठमाडौं । नेपाल उद्योग वाणिज्यम महासंघको वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् ।
‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा पनि सुन्न छाडेको छ,’ नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको साधारणसभामा बोल्दै वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकालले भने, ‘जससम्म सरकारले निजी क्षेत्रलाई साझेदारको रुपमा हेरेर सहकार्य गर्दैन तवसम्म देशमा हामीले सोचेजस्तो आर्थिक विकास हुन सक्दैन ।’
देशको उद्योग कलकारखाना स्थापना गरेर स्वदेशभित्रै रोजगारी सिर्जना नगरेसम्म देश आर्थिकरुपमा सम्पन्न हुन नसक्ने उनको तर्क थियो । ‘अहिले देशको मुख्य पुँजीको रुपमा रहेको युवा शक्ति रोजगारीका लागि विदेश पलायन भइराखेका छन् भने उनीहरुले विदेशी भुमिका रगत पसिना बगाएर पठाएको पैसाले देश चलाउन परेको छ,’ उनले भने, ‘रेमिट्यान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि देशभित्रै रोजगारी सिर्जना गर्नु जरुरी छ ।’
यदि कुनै कारणले वैदेशिक रोजगारीमा समस्या आयो भने देशको अर्थतन्त्रनै धराशायी हुने अवस्थामा पुग्ने समेत उनले जानकारी दिए । कुनै समय निर्यातको मुख्य वस्तुको रुपमा रहेको नेपाली गलैंचा लगायका वस्तुको अवस्था दयनीय बन्दै गएको भन्दै अबका दिनमा निर्यात वृद्धि गरी विदेशी मुद्रा भित्र्याउन सरकारले विशेष योजना ल्याउनु पर्ने बताए ।
‘कुनै समय कार्पेट, पस्मिना, गार्मेन्ट उद्योगले देशको भुक्तानी सन्तुलत गर्न ठूलो योगदान दिएको थियो भने सोही अनुरुप रोजगारी पनि सिर्जना भएको थियो,’ उनले भने, ‘त्यस्ता वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उत्पादनका लागि सरकारले ध्यान नदिनुका साथै निर्यातमा समेत झन्झटिलो प्रक्रिया हुँदा अहिले नगन्य मात्रामा निर्यात हुन थालेको छ ।’
सरकारले निर्यातका सम्भावनाका क्षेत्रको पहिचान गरी त्यस्ता वस्तु उत्पादनका प्रयोग हुने कच्चा पदार्थको भन्सार छुट दिनुका साथै बैंकबाट सहुलियत ब्याजदरमा कर्जा पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
SHARE YOUR THOUGHTS