अवैध माध्यमबाट फोन आउँदा ३०/३५ अर्ब राजस्व छली भयो, ब्याजदर घटाउनु पर्ने सन्देश दिएको छु: अर्थमन्त्री « Eglish Khabarhub

अवैध माध्यमबाट फोन आउँदा ३०/३५ अर्ब राजस्व छली भयो, ब्याजदर घटाउनु पर्ने सन्देश दिएको छु: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले विदेशबाट अवैध माध्यमबाट मोबाइल फोन भित्रिदाँ ३०/३५ अर्ब रुपैयाँ राजस्व छली भएको बताएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महतले गतवर्ष आयात प्रतिबन्ध लगाउने निर्णयले अवैध व्यापार बढेको बताए ।

‘अवैध फोनले मात्रै ३०/३५ अर्ब राजस्व छली भएको मन्त्रालयका साथीहरुले बताउनु भएको छ,’ महतले भने,‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेर अवैध रुपमा आयात हुने फोनलाई निरुत्साहित गर्नुपर्छ ।’

बढ्दो ब्याजदर, आर्थिक गतिविधि घटेकाले लक्ष्यअनुसार राजस्व संकलन नभएको मन्त्री महतले बताए ।

‘विगतमा लक्ष्य बराबर राजस्व उठ्ने गरेको थियो, हामीले त्यसैगरि चालू आर्थिक वर्षमा पनि राजस्वको लक्ष्य बढायौं,’ मन्त्री महतले भने,‘यो बर्ष बजारमा माग नबढ्दा आयात बढेन र लक्ष्यअनुसार राजस्व संकलन हुन सकेन ।’

महतले ब्याजदर कम हुनु पर्छ भन्ने सन्देश आफूले केन्द्रीय बैंकलाई दिएको बताए ।

‘बहुपक्षीय संस्थासँग पनि मैले कुरा गरिरहेका छु,’ महतले भने,‘अहिलेको आर्थिक अवस्था हामीले भने जस्तो खराब पनि होइन, तर समस्या नै नभएको पनि होइन ।’

आगामी आर्थिक वर्षको बजेट बनाउँदा अनावश्यक खर्च कटौति गर्ने मात्रै नभई पुँजीगत खर्च पनि प्राथमिकीकरण गर्ने मन्त्री महतले प्रतिवद्धता व्यक्त गरे ।

राजनीतिक नेतृत्वबाट रकमान्तर गर्नु पर्छ भन्ने दबाब आएको भन्दै यसलाई रोक्ने प्रयास गरिरहेको उनले बताए । ‘खर्च प्राथमिकीरण गर्नु पर्नेछ, वित्तीय सुशासन कायम गर्नु पर्नेछ,’महतले भने ।

Publish on: