२९ मंसिर २०८२, आइतबार

लघु निर्जीवन बीमा कम्पनीले ५० लाख र जीवनले ५ लाख रुपैयाँसम्मको बीमा गर्न पाउने


काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरी लघु निर्जीवन र लघु जीवन बीमा कम्पनीको व्यवसायको सीमा तोकेको छ ।

लघुबीमा व्यवसायको विकास, प्रवर्धन तथा व्यवस्थापन गरी बीमामार्फत न्यून आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्न बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरेको हो ।

प्राधिकरणले जारी गरेको लघुबीमा निर्देशनअनुसार लघु निर्जीवन बीमा कम्पनीले ५० लाख रुपैयाँ बीमांकसम्मको बीमा गर्न पाउने भएका छन् । त्यस्तै, लघु जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँभन्दा कम बीमांक भएको बीमा गर्न सक्नेछन् ।

लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा र इन्जिनियरिङ लघुबीमाको सीमा ५० लाख रुपैयाँ बीमांक तोकिएको छ । दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघुबीमाको सीमा ५ लाख रुपैयाँ तोकिएको छ ।

तर, नेपाल राष्ट्र बैंक र नेपाल सरकारद्धारा अनुदान तथा ब्याज अनुदान प्राप्त कर्जाको बीमांक कर्जाको सीमासम्मको दायित्व रहेने प्राधिकरणको जनाएको छ ।

यस्तै, मोटर लघुबीमाअन्तर्गत ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटरअन्तर्गत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मापेड, ट्याम्पु, रिक्सा, ठेलागाडा मात्रैको बीमा गर्न सकिनेछ ।

बीमकले टेलिकम, इन्टरनेट सेवाप्रदायक, भुक्ताी सेवाप्रदायक, स्टोर, होटल, रेस्टुराँलगायतका आपूर्ति शृंखलामा आबद्ध संगठित संस्थाहरुसँग सहकार्य गरी लघुबीमा जारी गर्न सकिने प्राधिकरणले जनाएको छ ।

लघुबीमाको लक्षित वर्ग

गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तकृत समुदायलाई लक्षित गरी बीमकले लघुबीमा गर्नुपर्नेछ । लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले लघु जीवन बीमा र लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले लघु निर्जीवन बीमा व्यवसाय गर्नुपर्नेछ ।

लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमामध्ये कुनै एक वा एक भन्दा बढी प्रकारका बीमा व्यवसाय गर्न सक्नेछन् ।

यस्तै, लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा, मोरट लघुबीमा, इन्जिनियरिङ्ग लघुबीमा, दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघु निर्जीवन बीमामध्ये एक वा एक भन्दा बढी प्रकारका बीमा व्यवसाय गर्न सक्नेछन् ।

जीवन लघुबीमालेखको हकमा एक वर्ष वा त्यसभन्दा बढी अवधिको र निर्जीवन लघुबीमाको हकमा एक वर्ष वा त्यसभन्दा बढी अवधिको र निर्जीवन लघुबीमालेखको हकमा एक वर्ष वा त्यसभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिने प्राधिकरणले जनाएको छ ।

२१ दिनभित्र दाबी भुक्तानी दिनुपर्ने

बीमकले आफूसमक्ष परेको लघुबीमा दाबीको तत्काल छानबिन गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्नेछ । बीमकले दाबीसम्बन्धी आवश्यक कागजात प्राप्त भएको बढीमा २१ दिनभित्र दायित्व यकिन गरी भुक्तानी गर्नुपर्नेछ । यस्तै, दाबी भुक्तानीसम्बन्धी कुनै विवाद उत्पन्न भएका प्राधिकरणमा ३५ दिनभित्र लिखित उजुरीसमेत गर्न सकिनेछ ।

प्राधिकरणले मंसिर ११ गते सातवटा कम्पनीलाई लघुबीमाको व्यवसाय गर्ने अनुमति दिएको थियो । यी कम्पनीलाई प्राधिकरणले मापदण्डअनुसार ७५ करोड रुपैयाँ जम्मा गर्न निर्देशन दिएको छ ।

प्राधिकरणका अनुसार अहिलेसम्म ४ वटा कम्पनीले मात्रै पुँजी जुटाएका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पुँजी जुटाएका हुन् ।

पुँजी जुटाएका गार्डीयन माइक्रो र नेपाल माइक्रोलाई प्राधिकरणले लाइसेन्स दिने निर्णय गरेको छ । भने पुँजी जुटाउन नसकेका ३ वटालाई ४५ दिनको समय थप गरिएको छ ।