![](https://internal.appharu.com/wp-content/uploads/2022/11/pashupati-768x407.jpeg)
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा भेटिघाटी संकलनका लागि राखिएको घ्याम्पो हराएको छ । घ्याम्पो हराएपछि त्यसको छानबिनका लागि समिति बनाइएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गोपाल किरातिले घ्याम्पो हराएपछि गठन भएको छानविन समितिको प्रतिवेदनको आधारमा थप अनुसन्धान गर्नु पर्ने भएकोले गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई पठाउने निर्णय गरिएको जानकारी दिए ।
पशुपतिनाथ मन्दिरको पश्चिमी द्वारमा राखिएको घ्याम्पो गत माघ १४ गते हराएको थियो ।
मन्दिरका चारवटै ढोका अगाडि दानपात्रको रुपमा तामाका घ्याम्पा राखिएका छन् । बिर्को लगाइएको ति घ्याम्पामा चाबी लगाउने गरिन्छ ।
घ्याम्पामा भक्तजनले पैसासहित गरगहना तथा सुनचाँदीजस्ता बहुमूल्य धातुसमेत खसाउने गर्छन् । त्यसरी जम्मा भएका नगद तथा बहुमूल्य धातु रहेका चारवटै घ्याम्पालाई हरेक दिन दिउँसो मध्याह्नमा कर्मचारीको रोहबरमा खोलेर त्यसलाई कोषमा दाखिला गर्ने चलन रहेको छ । तर सो दिन उक्त समयमा घ्याम्पो हराएपछि पशुपतिमा हल्लिखल्ली भएको थियो । तर, केही घण्टापछि पुन: यथास्थानमै फेला परेको थियो ।
उक्त घटनाको छानबिन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा कोषले सात सदस्यीय समिति बनाएको थियो ।
दानपात्रमा हरेक दिन नगद दुई लाख रुपैयाँभन्दा बढी जम्मा हुने गरेको बताइन्छ । त्यस्तै सुर र गरगहना पनि ठूलै परिमाणमा हुने गरेको छ ।
त्यस्तै यस वर्षको महाशिवरात्रीको अवसरमा संचालित मेलामा सम्झौता विपरित काम भएको र छानविन गर्दा सोझै घोटाला भएको देखिएकोले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय भएको उनले जानकारी दिए ।
SHARE YOUR THOUGHTS