२९ मंसिर २०८२, आइतबार

एउटा बैंकले शाखा खोलेको स्थानीय तहमा ३ वर्षसम्म अरु बैंकले शाखा खोल्न नपाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एउटा बैंकले शाखा खोलेको स्थानीय तहमा अर्को बैंकले ३ वर्षसम्म शाखा खोल्न नपाउने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठनको प्रस्ताबमा राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

‘एक बैंकले शाखा खोलेको ठाउँमा ३ वर्षसम्म अर्को बैंकले शाखा खोल्न नपाउने सहमति भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले क्लिकमाण्डूसँग भने, ‘बैंकर्स संघबाटै यस्तो प्रस्ताब आएको थियो, जसलाई हामीले स्वीकृति दिइसकेका छौं ।’

ग्रामीण स्थानमा धेरै बैंक जाँदा बजारको अभाव हुनसक्ने संभावित जोखिमलाई मध्यनजर गर्दै एक बैंकले शाखा खोलेको ठाउँमा ३ वर्षसम्म अर्को बैंकले शाखा खोल्न नपाउने व्यवस्था गरिएको शिवाकोटीले बताए ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा यो वर्षभित्रै ७ सय ४४ वटा स्थानीय तहमै बैंक पुर्याउने घोषणा गरेको थियो । सरकारको घोषणापछि राष्ट्र बैंकले बैंकर्स संघलाई ‘तपाईंहरु कहाँ कहाँ र कसरी जान सक्नुहुन्छ ? लिस्ट दिनुहोस्’ भनेको थियो ।

बैंकर्स संघले बैंकरहरुबीच छलफल गरेर यसैवर्ष २ सय ५० स्थानीय तहमा शाखा विस्तार गर्ने जनाएका थिए ।

बैंकर्स संघले बुझाएको लिस्टमा दुर्गमका करिब २ सय स्थानमा जाने बारे केही पनि उल्लेख छैन । राष्ट्र बैंकले दुर्गमका स्थानहरुमा जानका लागि फेरि छलफल गरेर लिस्ट दिन भनिसकेको छ ।

राष्ट्र बैंकले दुर्गम एवं ग्रामिण इलाका २५ सय बैंक खाता खोल्ने बैंकलाई १ लाख रुपैयाँ निर्व्याजी ऋण दिने घोषणा गरिसकेको छ ।