
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १५ दिनभित्र आयकर तिर्नका लागि आन्तरिक राजस्व कार्यालयले निर्देशन दिएको छ ।
झापाको भद्रपुर कार्यालयले सूचना प्रकाशित गर्दै समयमै आयकर बुझाउन निर्देशन दिएको हो ।
बी एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिचर्स सेन्टरका सञ्चालक दुर्गा प्रसाईं तथा इन्दिरा गिरी समेतको नाममा निर्देशन जारी गरेको हो ।
प्रसाईं तथा गिरीसमेतको कम्पनी/फर्म बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिचर्स सेन्टरको नाममा सूचना प्रकाशित गर्दै आयकर तिर्नका लागि कार्यालयले १५ दिने निर्देशन दिएको हो ।
प्रसाईं केही समययता बैंकको ब्याज तथा सरकारलाई कर नतिर्न भन्दै देशव्यापी रुपमा आन्दोलन गर्दै हिँडिरहेका छन् ।
बैंकका कर्मचारीलाई ‘कालोमोसो दल्ने’देखि सरकारलाई ‘कर तिर्नु पर्दैन’ भन्दै अभियान चलाउँदै उनले उद्योगी व्यवसायीसहित सर्वसाधारणलाई भड्काइरहेका छन् ।
प्रसाईंले पछिल्लो समय लघुवित्त, वितीतिय संस्था, सहकारी र कतिपय बैंकबाट समेत ऋणीलाई थप यातना दिएको, राज्यले समस्या नबुझेको, ब्याजदर नघटाएर व्यवसायी तथा नागरिकको विपक्षमा लागेको, उद्योगी व्यवसायीलाई बढी ब्याजदर तिराएर आत्महत्या गर्न बाध्य बनाएको जस्ता तर्क गरेर आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्